• १९ पुस २०८१, शुक्रबार

मुख्य बजारमा पार्किङ निषेध

blog

बुटवल समाचारदाता

बुटवल, पुस १६ गते । बुटवलका मुख्य बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या अब समाधान हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको मुख्य बजार क्षेत्र अमरपथ, बिपी चोक र राममन्दिर क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या हटाउन नयाँ विकल्पका रूपमा जग्गा भाडामा लिएर पार्किङ क्षेत्र बनाएको छ । 

बुटवल–६ स्थित पुरानो सिनेमा घरको खाली जग्गा १० वर्षका लागि भाडामा लिएर अव्यवस्थित पार्किङको समस्या समाधान गर्न लागिएको हो । अबदेखि ती क्षेत्रभित्रमा बजार समयमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न पाइने छैन । बजार समयमा अनिवार्य रूपमा उक्त क्षेत्रका सवारीसाधन पुरानो सिनेमा घरको खाली स्थानमा लगेर राख्नुपर्ने छ भने पार्किङबापतको न्यूनतम शुल्क तिर्नुपर्ने हुन्छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बजारमा किनमेल गर्न आउनेहरूका हकमा भने यो व्यवस्था लागु नहुने बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाले बुटवल उद्योग वाणिज्य सङ्घ, स्थानीय सङ्घ संस्था र टोल विकाससँग लामो समयदेखि छलफल तथा समन्वय गरी यो नियम लागु गरेको जनाएको हो । यसका लागि पहिलादेखि नै विभिन्न रूपमा त्यस क्षेत्रका व्यवसायी तथा घरधनीलाई जानकारी र सचेत गराउँदै आएको बुटवल उपमहानगरपालिकाले आइतबार बुटवलको बिपी चोकमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा सुरुवात गरेको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले अमरपथ, बिपी चोकलगायतका क्षेत्रमा अव्यवस्थित पार्किङको कारणले बजार चलायमानमा समस्या आएकाले नयाँ पार्किङ स्थलको खोजी गरिएको बताउनुभयो । 

यस्तै बुटवलका अन्य ठाउँमा पनि निश्चित पार्किङ क्षेत्र तोक्ने गरी आफूहरू लागेको र छिट्टै निर्धारण गरिने उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिका–६ का समाजसेवी तथा पार्किङ व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उपमहानगरपालिकाले तोकेको स्थानमा पार्किङ गरी बुटवललाई सुन्दर बनाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो । 

उहाँले एक महिनासम्मका लागि उक्त स्थानमा पार्किङ गर्दा कुनै पनि शुल्क नलाग्ने र एक महिनापछि भने दिनको ५० रुपियाँ मात्रै शुल्क लाग्ने बताउनुभयो । यस्तै बुटवल–६ का वडाध्यक्ष लोकनाथ न्यौपानेले जग्गाधनी सन्दीप मास्केसँग १० वर्षसम्म पार्किङ गर्ने गरी सम्झौता भएको बताउनुभयो । सो अवसरमा बुटवल उपमहानगर प्रमुख पाण्डेयले राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक न्यौपानेलाई पाँच लाख बराबरको ट्राफिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।