सिराज खान
नेपालगन्ज, पुस १५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिनुभयो।
उहॉले उनीहरुबाट ६६ बर्ष २७ दिन कैद, १९ लाख १९ हजार ७४७ रपियाँ जरिवाना समेत असुलउपर गरिएको बताउनुभयो । पक्राउ परेकामध्ये लामो समयदेखि फरार रहेका अभियुक्तहरू रहेको प्रहरीले जनाएको छ । सो अवधिमा विभिन्नखाले ५९५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । ५६७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सर्दै आएका १७० मुद्दाहरु फछ्र्यौट गरिएको छ ।
डिएसपी जोशीका अनुसार सो अवधिमा ठाडो उजुरी १ हजार ८९८ वटा प्राप्त भएकोमा १ हजार ५६२ फछ्र्यौट भएका थिए । २६० वटा बाँकी निबेदन प्रक्रियामा छन् ।’
महिला बालबालिकासँग सम्बन्धित मात्र ५९ वटा मुद्दा दर्ता भएका छन् । त्यसमा २६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । घरेलु हिंसासम्बन्धि २९४ वटा उजुरी प्राप्त भएकोमा २७६ वटा फछ्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरीक सम्बन्धमा १८४ वटा निबेदन प्राप्त भएकोमा १११ जना फेला पारी अबिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् ।
अलपत्र अवस्थामा रहेका ५८ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई फेला पारी उद्धार गरिएको र ३७ जनालाई संरक्षणको लागि संस्थामा पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।