• ७ वैशाख २०८२, आइतबार

सम्झौताको एघार वर्षपछि पुल निर्माण सुरु

blog

ठाकुर सेनेहाङ 

तेह्रथुम, पुस १५ गते । तेह्रथुम पाँचथरलाई जोड्ने तमोर नदीको लुवुघाटमा अलपत्र रहेको पक्की पुल ११ वर्षपछि निर्माण सुरु भएको छ । निर्माणमा ढिलाइ भएको भन्दै दुवै जिल्लावासी सरोकारवालाले विभिन्न किसिमको दबाब दिएपछि निर्माण कम्पनीले काम अगाडि बढाएको हो । 

सडक डिभिजन कार्यालय धनकुटाले तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा पक्की पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवा काठमाडौँलाई तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७० सालमा ठेक्का सम्झौता गरेको थियो तर विभिन्न बहानामा निर्माण कम्पनीले कामलाई बिचमै छोडिदिएपछि दुई जिल्लाका सरोकारवालाले पटक पटक दबाब सिर्जना गरेसँगै काम अगाडि बढाउन निर्माण कम्पनी सहमत भएको हो । “निर्माण कार्य दु्रतगतिमा अगाडि बढाएर आउँदो असार मसान्तसम्म पुल निर्माण गरिसक्ने सहमति भएको तेह्रथुमका प्रतिनिधि सभा सदस्य सीता गुरुङले भन्नुभयो,” “अब काम रोकिँदैन ।”

सडक डिभिजन कार्यालयका अनुसार १६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनुपर्ने छ । बाँकी ५७ मिटरमा स्टिलको ट्रस्ट राखिने छ । दुई लेनको पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवाले १५ करोड ३६ लाख रुपियाँको लागतमा निर्माण सम्पन गर्न ठेक्का सम्झौता गरेको थियो । २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापर्बाहीका कारण अहिलेसम्म आधा पनि काम सम्पन्न भएको छैन । पुलमा दुई वटा पिल्लर, चार वटा स्लाब र ६० मिटर लम्बाइको ट्रस्ट निर्माण गर्न बाँकी नै छ । सरोकारवालाको निकै लामो अथक प्रयासपछि पुल बन्नेमा आफूहरू विश्वस्त रहेको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको दाबी छ । 

पुल निर्माणको काम चाँडो सम्पन्न गर्न माग गर्दै दुवै जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र राजनीतिक दलका नेताहरू पटक पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयसम्म पुगेर मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । दुवै जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत अनुगमन निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गरी चाँडो काम सक्न अनुरोध गर्दै आएका थिए । पटक पटक म्याद थपिएर पनि निर्माण कार्य अगाडि नबढेको कारण यस पटक पनि पुल बन्नेमा विश्वास नरहेको कुम्मायक गाउँपालिका–५, पाँचथरका विजय निरौला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघि पनि पटक पटक काम गर्दै छाडेकाले फेरि पनि पुल बन्ला जस्तो लाग्दैन ।”

पुल निर्माणको काम लामो समयदेखि रोकिएपछि निर्धारित समयमा पुल निर्माणको काम सम्पन्न नहुँदा दुई जिल्लाका बासिन्दालाई बिरामी ओसारपसार र कृषिजन्य वस्तु ढुवानीलगायत विभिन्न कार्यमा दुःख बेहोर्नु परिरहेको छ । तमोर नदीमा बनिरहेको यो पुलले तेह्रथुमको म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिकालाई जोड्ने छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ र पाँचथरको सदरमुकाम फिदिम जोड्ने छोटो दुरीको यो पुल निर्माणपछि मेची र कोशी राजमार्गको सिधा सम्पर्कसमेत जोडिने छ ।