तम्घास समाचारदाता
तम्घास, पुस १५ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाको कार्यपालिका बैठक नेकपा (एमाले) र माओवादी केन्द्रले बहिष्कार गरेका छन् ।
आइतबारका लागि बोलाइएको बैठक एमाले र माओवादी केन्द्रले बहिष्कार गरेका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । उहाँले कार्यपालिका बैठकमा कांग्रेसका नेता तथा गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले धम्क्याउने तथा मनोमानी गर्ने गरेकाले बैठक बहिष्कार गरेको दाबी गर्नुभयो । अध्यक्ष थापा नसुध्रिएसम्म बैठक बहिष्कार गर्ने गरी आफूले योजना बनाएको दर्लामीको दाबी छ । खड्गकोटको स्वास्थ्य संस्था सार्नेदेखि लिएर अन्य विषयमा समेत उहाँले एकलौटी गर्ने गरेकाले आफूहरू कार्यपालिका बैठक बहिष्कार गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य संस्था सार्ने विषयमा तलको कार्यालयबाट पनि सेवा दिने सहमतिविपरीत उहाँ लागेको र अन्य विषयमा पनि मनोमानी गरेकाले बहिष्कार गर्न बाध्य भएको एमालेको दलको नेता तथा वडा नम्बर ७ का वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । यसका साथै शिक्षक नियुक्ति गर्ने विषयमा पनि आवश्यकताका आधारमा नभई आफू अनुकूल गर्ने गरेकाले आफूहरू बाध्य भएको उहाँको भनाइ छ । कार्यपालिका बैठकमा आफू अनुकूल नभए अपमान गर्ने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले आइतबारका लागि तय गरिएको बैठक बस्न नसकेको बताउनुभयो । उहाँहरूबिच आपसमा केही छलफल गर्नुपर्ने विषय रहेकाले छलफल र संवादका माध्यमबाटै समस्या समाधान हुने उहाँले बताउनुभयो ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सबै विषय छलफलका माध्यमबाटै हुँदै आएकाले उहाँहरूले लगाएको आरोपमा सत्यता नभएको बताउनुभयो । उहाँहरूलाई चित्त नबुझेका कुराहरू कार्यपालिकाको बैठकमा आएर राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँहरू आउनुहुन्छ भन्दै कार्यालयमा बसिरहेको र नआएपछि बैठक नै अन्योल भएको उहाँको भनाइ छ । कार्यपालिका बैठकमा एमाले र माओवादीका उपाध्यक्षसहित १० जना सदस्य छन् भने कांग्रेसका अध्यक्ष र जनमोर्चासहित पाँच सदस्य छन् ।