हुम्ला समाचारदाता
हुम्ला, पुस १५ गते । सिमकोट गाउँपालिका–८ को स्याँडागाउँको चरीचौरमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ । उक्त गाउँको सैपाल माध्यमिक विद्यालयलाई हालको विद्यालय भवन भएको स्थान साँघुरो र जीर्ण भएकाले विद्यालय सार्नका लागि चरीचौरमा नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
पुरानो जीर्ण भवनबाट पठनपाठन गर्न कठिन भइरहेको समयमा नयाँ भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको उक्त विद्यालयका प्रधानाध्यापक देवबहादुर बुढाले बताउनुभयो । पाँच वटा ब्लकमा १२ कोठे भवन निर्माण भएको हो । भवनको उद्घाटनपछि विद्यालयलाई नयाँ भवन जिम्मा लगाउने कार्य भएको र अब नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गरिने उहाँले बताउनुभयो ।
हालको विद्यालय थोरै क्षेत्रफलमा साँघुरो भवन निर्माण भएर उकुसमुकुस अवस्थामा पढाइ भइरहेको थियो । उहाँले यो अवस्थाबाट पार पाउनका लागि नयाँ खुला स्थान चरीचौरमा विद्यालय भवन सार्नु परेको बताउनुभयो । उक्त वडाका वडाध्यक्ष कमल बुढाले धेरै सहयोगी निकायको सहयोगमा चरीचौरमा नयाँ विद्यालय भवन निर्माण भएको बताउनुभयो । यसका लागि सामाजिक विकास कार्यालयको ५० लाख रुपियाँ लागतमा चारकोठे भवन निर्माण गरिएको हो । त्यसै गरी आठकोठे भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै दुई वटा शौचालय भवन, खानेपानीका लागि बालमैत्री धारा र खेल मैदान निर्माण गर्न आधार विकास नेपालले एक करोड ४६ लाख रुपियाँ लगानी गरेको छ ।
आधार विकासकै आर्थिक सहयोगमा दिवा खाजा पकाउनका लागि भान्सा पनि निर्माण गरिएको छ । सरकारले अनुदान दिने दिवा खाजाका लागि पनि आधारले थप सहयोग गर्दै आएको छ । सिमकोट गाउँपालिकाले विद्यालयको घेरबार गरेको छ भने प्रधानमन्त्री रोजगारको १४ लाख र मुख्यमन्त्री रोजगार कार्यक्रमको २० लाख गरी कुल ३४ लाख रुपियाँमा खेल मैदान निर्माण गरिएको छ । विद्यालय भवन निर्माण गर्न स्याँडागाउँका स्थानीय सिंहबहादुर बुढा, पुनिमल बुढा, बर्म बुढा, रामसिंह बुढा, पुसे बुढा, अङ्गवीर बुढालगायतले एक हजार वर्गमिटरको जग्गा निःशुल्क दान गर्नुभएको छ । हाल विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म ३९६ जना विद्यार्थी अध्ययनरत छन् ।