• १८ पुस २०८१, बिहिबार

तितेकरेलाको सुकुटीको बिक्री सुरु

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, पुस १५ गते । इलामको रोङ गाउँपालिकाले तितेकरेलाको सुकुटी बनाएर बेच्न थालेको छ । किसानले उत्पादन गरेका वस्तुलाई व्यवस्थित रूपमा बजारमा लगेर उचित मूल्यमा बेच्न गाउँपालिकाले करेलाको सुकुटीको ब्रान्डिङ गरेको हो । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याएको जानकारी दिनुभयो ।  गाउँपालिकाले यस वर्ष दुई सय किलोग्राम सुक्खा करेला तयार गरी बजारमा ल्याएको छ । करेलाको अध्ययन, अनुसन्धान गर्दा अत्यन्तै सफल भएको र अर्को पटक ठुलो मात्रामा उत्पादन वृद्धि हुने अध्यक्ष स्याङ्बोले बताउनुभयो । 

बजार मूल्य कम भएका बेला एक सिजनमा ५० हजार किलोग्राम काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरिरहेको छ । अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्बोले बताउनुभयो । 

रोङको तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा खान पनि सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा ५/१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खान सकिने बताइएको छ । रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३, प्युरेका लल्मी लाप्चाले बताउनुभयो । गाउँपालिकाले यसअघि नै रोङ गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो जस्ता कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको छ । रोङको गुन्द्रुक र महको अहिले माग धान्न कठिन छ ।