• १६ पुस २०८१, मङ्गलबार

अहा ! चितवनको जङ्गल सफारी

blog

भाइबहिनीहरू, चितवन पर्यटकीय स्थल पनि हो । घुम्दा रमाइलो लाग्ने ठाउँ यहाँ प्रशस्त छन् । नेपालीका साथै विदेशी पर्यटक पनि बर्सेनि हजारौँको सङ्ख्यामा यहाँ आउने गरेका छन् । शैक्षिक भ्रमणका लागि चितवनको बाटो हुँदै कतै जाँदै हुनुहुन्छ भने यहाँका लागि पनि समय दिनुहोला । चितवनका मुख्य आकर्षणका बारेमा चर्चा गर्ने छौँ ।

सौराहा 

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पूर्वी स्थान सौराहा हो । यहाँ थारू समुदायको बस्ती छ । यहाँ थारू समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट हेर्न सकिन्छ । भरतपुरबाट २० किलोमिटर पूर्व–दक्षिणमा रहेको सौराहामा नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र खोरसोर छ । यहाँ ६० वटा सरकारी हात्ती पालिएका छन् । साँझ परेपछि राप्ती नदी किनारमा बसेर नाचगान वा खानपिन गर्दा निकै रमाइलो हुन्छ । हात्ती चोकमा हरेक साँझ थारू जातिको सांस्कृतिक कार्यक्रम पनि हेर्न पाइन्छ । निकुञ्जसँग जोडिएको मध्यवर्ती सामुदायिक वनमा हात्तीमा चढेर यात्रा गर्न पाइन्छ । यसलाई हात्ती सफारी भन्ने गरिन्छ । हात्ती सफारी गर्दा गैँडा, बाघ, हरिणलगायतका वन्यजन्तु देख्न सकिन्छ ।

चितवन निकुञ्ज 

चितवन जङ्गल सफारीका लागि पनि प्रख्यात छ । जिप चढेर निकुञ्जभित्र यात्रा गरिन्छ । यसलाई जङ्गल सफारी भनिन्छ । जिपमा बसेर टाढासम्म पुगी जङ्गली जनावर हेर्न सकिन्छ । निकुञ्जभित्रका जङ्गल, तालतलैया, पोखरीमा आहाल खेल्दै गरेका एकसिङे गैँडा, बाटो काट्दै गरेका पाटेबाघ हेर्न पाउँदा मन नै आनन्दित हुन्छ । 

कसरा 

विश्वमा नै दुर्लभ रहेको घडियाल गोहीलाई कसरामा हुर्काउने गरिएको छ । घडियाल गोही प्रजनन केन्द्र अध्ययन अनुसन्धानका लागि उत्तम स्थल हो । यहाँ गोहीका अन्डादेखि सानाठुला थुप्र्रै गोहीलाई नजिकबाट देख्न पाइन्छ । घाइते भएका बाघ वा मानिसलाई आक्रमण गरेका बाघलाई ल्याएर कसराकै खोरमा थुन्ने गरिन्छ । त्यस्ता बाघलाई नजिकैबाट हेर्न पाइन्छ । तत्कालीन राजपरिवार सिकार खेल्न आउँदा बस्ने गरेको सुन्दर दरबार पनि छ । 

मेघौली 

चितवनको पश्चिम क्षेत्रमा रहेको मेघौली राप्ती र नारायणी नदीको सङ्गम स्थल हो । यहाँ सूर्यास्तको दृश्य बडो मजाको देखिन्छ । नारायणी नदीको पानीमा डुब्दै गरेको रातो सूर्यको दृश्यलाई जीवनमा कहिल्यै भुल्न सकिँदैन । चितवनको दोस्रो विमानस्थल पनि यहाँ छ तर अचेल यो बन्द छ ।

माडी 

माडी क्षेत्र धार्मिक स्थलका रूपमा पनि परिचित छ । यहाँ जान चितवन राष्ट्रिय निकुञ्ज पार गर्नु पर्छ । रामको जन्म अयोध्यापुरी क्षेत्रमा भएको मानिन्छ । यहाँ राम, सीता र लक्ष्मणको आकर्षक मूर्ती स्थापना गरिएको छ । वैकुण्ठ ताल, गोद्दक, कोइला पाइने सोमेश्वर डाँडा आदि रमाइला ठाउँ यहाँ छन् ।

नारायणी नदी किनार 

नारायणगढ बजार क्षेत्रमा घुम्न लायक ठाउँ भनेको नारायणी नदी किनार पनि हो । भरतपुर महानगरपालिकाले समुद्री तट जस्तै गरेर नदी किनार निर्माण गरेको छ । साँझपखको शितल हावामा सुन्दर नदीको मनोरम दृश्य हेर्न सयौँको भिड लाग्ने गर्दछ । नदीमा मोटरबोटमा पनि सयर गर्न पाइन्छ । मङ्गलपुरको काभ्रेघाटमा मिनी पानीजहाज चढ्न पाइन्छ । तीन सय जनाभन्दा बढी मानिस चढ्न मिल्ने तीन तलाको यो जहाज बसेर मनोरम दृश्य हेर्न सकिन्छ । 

देवघाटधाम 

तीन जिल्ला चितवन, तनहुँ र नवलपरासीको सङ्गम स्थल देवघाटधाम धार्मिक पर्यटनका लागि अति महत्वपूर्ण स्थल हो । यहाँ माघेसङ्क्रान्तिमा लाखौँको भिड लाग्दछ । धार्मिक तथा पौराणिक महत्वका विषयवस्तु अध्ययनका लागि पनि यो क्षेत्र महत्वपूर्ण छ । यहाँ निःशुल्कमा संस्कृत अध्ययन अध्यापन गरिन्छ । गलेश्वर आश्रम, हरिहर आश्रम, सीताराम संस्कृत पाठशालालगायतका स्थान अवलोकन गर्न पाइन्छ । 

यीबाहेक चितवनको सबैभन्दा उचाइमा रहेको सिराइचुल डाँडाबाट सूर्योदय हेर्न सकिन्छ । यहाँ गुराँस फुल्दछ । इच्छाकामना मन्दिर, गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर, मन्दिर जान निर्माण भएको केबुलकार, मुग्लिङनजिकैको जलबिरेको लामो झरना, शक्तिखोरको सिन्ती झरना, चेपाङ बस्ती, टाडी जिरौनाको गुम्बज शैलीको कलात्मक आकर्षक कृष्ण मन्दिर, जगतपुरको अम्रेला स्ट्रिट, गौरीगन्जनजिकैको बिसहजारी ताल, बाटुली पोखरी, स्टोन पार्क, ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलगायतका थुप्रै पर्यटकीय स्थल छन् ।   

   मुना

Author

शालिग्राम नेपाल