• १४ पुस २०८१, आइतबार

सौराहामा हात्तीलाई वनभोज

blog

चितवन समाचारदाता

चितवन, पुस १४ गते । चितवनको पर्यटकीय नगरी सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई भोज खुवाइएको छ । 

बाघमारा वनको खुला चौरमा दर्जनौँ हात्तीलाई मन पर्ने परिकार खुवाएर भोज मनाइएको हो । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटेल सङ्घ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गर्न थालिएको हो । 

१८ औँ संस्करणको हात्ती महोत्सवमा हात्ती केन्द्रित विभिन्न गतिविधि सञ्चालनमा रहेको छ । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा सुन्दरी प्रतियोगिता, दौड, हात्तीको पेनाल्टी सुट आउट, सुन्दरी प्रतियोगितालगायतका कार्यक्रम राखिएको छ । हात्तीको वनभोज कार्यक्रम आकर्षणका रूपमा रहँदै आएको छ । 

हात्तीहरूको वनभोज कार्यक्रममा विभिन्न किसिमका मिष्ठान्न परिकारहरू तयार पारिएको संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो । वनभोजमा हात्तीलाई ड्र्यागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै, पाउरोटी, सुन्तला, सखर, पकाएको चामललगायतका खानेकुरा खुवाइएको क्षेत्रीय होटेल सङ्घका महासचिव गुणराज थपलियाले बताउनुभयो । कलात्मक रूपमा सजिएका हात्तीले वनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड लागेको थियो । हात्तीलाई तनाव होइन खुसी बनाउन भोजको आयोजना गरिएको थपलियाले बताउनुभयो । सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुने आयोजकले बताएको छ । हात्तीको गतिविधि अन्य वन्यजन्तु, चरा, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् ।