गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । त्रिभुवन पार्क थानकोट काठमाडौंमा आयोजित साधारणसभाको उदघाटन गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गर्नुभयो ।
कार्यक्रमको उदघाटन गर्दै कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र सहकारीमार्फत संस्थानका कर्मचारी एक ठाउँमा जोडिनु राम्रो विषय भएको बताउनुभयो । संस्थानका कर्मचारीबिच एकता कायम गर्ने भूमिका सहकारीले गरिरहेको उहाँले चर्चा गर्नुभयो । संस्थान कर्मचारीहरूको कल्याणकारी कोषको काम पनि छिट्टै टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
चार वर्षसम्म नियमित सहकारीको वार्षिकोत्सवमा उपस्थित भएर शुभकामना दिन पाउँदा खुसी लागेको जानकारी दिनुहुँदै सम्भवतः अर्को वार्षिकोत्सवमा शुभकामना दिने अवसर आफूले नपाउने उहाँले जानकारी गराउनुभयो । सहकारीमा आवद्ध सबैलाई बधाई ज्ञापन गर्दै उहाँले सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।
गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य तथा संस्थानका अर्थ विभाग प्रमुख राजुकुमार महतले सहकारीबारे बजारमा विभिन्न खालको बुझाइ भए पनि गोरखापत्र सहकारीको अवस्था बलियो भएको बताउनुभयो । सहकारीले गोरखापत्रका कर्मचारीको आर्थिक समस्या समाधानमा थोरै भए पनि भूमिका निर्वाह गर्दैआएको उहाँले चर्चा गर्नुभयो ।
सहकारीका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष नन्दलाल तिवारीले सबैको सहकार्य मार्फत सहकारी चल्ने हुनाले सबै कर्मचारीको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थानका नायव महाप्रबन्धक यमप्रसाद कँडेल, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भिमसेन थपलियासहित संस्थानका विभागीय प्रमुख, सहकारीका पूर्व अध्यक्षसहित सहकारी सदस्यहरूको सहभागिता थियो ।
सो अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा संस्थान कर्मचारीका उत्कृष्ट छोराछोरीहरूलाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा भगीरथ बस्नेतकी छोरी एञ्जल बस्नेत ३.९१ जिपिए ल्याएर नगदसहित सम्मानित हुनुभयो ।
त्यस्तै, शिवहरि अर्यालका छोरा प्रतीक अर्याल ३.७५ जिपिए, खुवाप्रसाद रिमालकी छोरी प्रतिक्षा रिमालले ३.७१ जिपिए, खिमा भण्डारीका छोरा हिमांसु भण्डारीले ३.६५ जिपिए र सविता घिमिरेका छोरा आदित्यप्रसाद फुँयालले ३.५२ जिपिए ल्याए पुरस्कृत हुनुभयो । पुरस्कृतलाई ३ हजार पाँच सय र २ हजार पाँचसय नगद र सम्मानपत्रले सम्मानित गरिएको सहकारीका अध्यक्ष जोशीले बताउनुभयो ।