कुलुङ जातिको नयाँ वर्ष पुस १५ देखि सुरु हुँदै छ । स्मरणीय छ, कुलुङ जातिको जीवन चक्र अनुसार पुस १५ देखि ‘यले दोङ – ५०८५’ सुरु हुँदै छ । विक्रम संवत्को पहिलो महिनालाई ‘वैशाख’ भने जस्तै कुलुङ जातिको पहिलो महिनालाई ‘चाक्चाकुर’ भनिन्छ । पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष यले दोङ (किराँत संवत्) सुरु हुँदै छ । हुन त ‘चाक्चाकुर’ भन्नाले कुलुङ जातिमा महिनाको नाम पनि हो र चाडपर्व पनि हो । कुलुङ जातिले हरेक वर्षको पुस १५, १६ र १७ गते तीन दिनसम्म ‘चाक्चाकुर’ मनाउने गर्छन् ।
‘चाक्चाकुर’ लाई केवल नयाँ वर्षका रूपमा एक पर्व मात्रै नमानेर एक भव्य र प्रमुख चाडका रूपमा कुलुङ जातिले मनाउने गरेका छन् । स्मरणीय के छ भने, कुलुङ जातिलाई हालसम्म आममानिसले चिन्दा चाहिँ ‘राई !’ जाति भनेर बुझ्ने एवं ‘कुलुङ’ भनेको चाहिँ ‘राई !’ भित्रको एक थर हो भन्ने बुझेका छन् तर वास्तविकता चाहिँ त्यस्तो होइन । किन भने ‘राई !’ भनेको कुनै जातजाति नभएर पद, पदवी वा पगरी मात्रै हो । केही उदाहरण हेरौँ । जस्तै : प्रधानमन्त्री, प्रधान न्यायाधीश, न्यायाधीश, मन्त्री, मुख्य सचिव, सचिव, सांसद, मुख्यमन्त्री, प्रदेश प्रमुख आदि ।
जे होस्, ‘कुलुङ’ जातिको नयाँ वर्ष (निङ दोङ) तथा मिनारी दाचाम् (नयाँ अन्न भित्र्याउने र खाने) ‘चाक्चाकुर’ हरेक पुस महिनाको १५, १६ र १७ मा पर्ने गर्छ । नेपालका विभिन्न जातजातिमध्ये गुरुङ जातिको ‘तमु ल्होसार’ पनि सोही मितिमै पर्ने भएकाले गर्दा ‘कुलुङ’ जातिको नयाँ वर्ष (निङ दोङ) चाक्चाकुर तथा मिनारी दाचाम् (नयाँ अन्न भित्र्याउने) ‘चाक्चाकुर’ ओझेलमा पर्ने गरेको छ । किन यस्तो भयो ? भन्दा गुरुङ जातिलाई नेपालको एक जाति हुन् भनी सरकारले आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको छ । ‘कुलुङ’ जातिलाई हालसम्म नेपालका अलग्गै जाति हुन् भनी आदिवासी जनजाति सूचीमा सूचीकृत गरेर अलग्गै जातिको मान्यता दिइसकेको छैन । त्यसो भएकाले गर्दा नेपालका अन्य जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग आदिका अगुवा एवं सर्वसाधारणले पनि ‘कुलुङ’ समुदायलाई ‘राई !’ जातिभित्रको एक ‘थर’ मात्रै हो भन्ने बुझेका छन् । वास्तविकता चाहिँ त्यस्तो होइन । विसं २०६८ को ११ औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसङ्ख्या २८ हजार ६१३ र कुलुङ मातृभाषीको सङ्ख्या ३३ हजार १७० रहेको छ । त्यस्तै गरेर विसं २०७८ को १२ औँ राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसङ्ख्या केही बढेर ३३ हजार ३८८ आएको छ । साथै कुलुङ मातृभाषी सङ्ख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ रहेको छ ।
यसरी हेर्दा कुलुङ जातिले मनाउने विभिन्न चाडपर्वको सन्दर्भमा भन्नुपर्दा ‘मिनारी–दाचाम् चाक्चाकुर’ पनि एक हो । कुलुङ समुदायले नयाँ वर्षलाई ‘निङ दोङ’ भनी पुकार्छन् भने यसै अवसरमा ‘मिनारी–दाचाम् चाक्चाकुर’ लाई तीन दिनसम्म हर्षोल्लाससाथ मनाउने गर्छन् भन्ने कुरो त माथि नै एक प्रसङ्गमा उल्लेख गरिएको छ नै । कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (किराँत कुलु गुसखोम)’ ले विसं २०६१, विसं २०६८ र विसं २०७८ मा गरेर तीन पटकसम्म सुनसरी जिल्लाको धरान उपमहानगरपालिका (सेउतीपारि, पाँचकन्या) मा देशभरिका कुलुङ जातिका पितापुर्खा एवं जान्नेबुझ्ने विज्ञको भेला आयोजना गरेर कुलुङ जातिले परम्परादेखि अपनाउँदै आएको वास्तविक एवं मौलिक चाडबाड, पर्व, उत्सव, धर्मकर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, रीतिथिति, रहनसहन, वेशभूषा, खानपान, बाजागाजा, गरगहना, परम्परागत कानुन, नाचगान, मेलापात, खेलकुद र ऋतु अनुसार गरिने परम्परागत विधिविधान आदि इत्यादि के के हुन् ?, के के छन् ? ती सबै जीवित छन्/छैनन् ? भनी बृहत् रूपमा छलफल गर्न एवं कुलुङ जातिले मनाउने चाडबाड र पर्वहरूमा एकरूपता ल्याउन देशविदेशमा रहेका कुलुङबिच जानकारी लिनेदिने निर्णय गरिएको छ । साथै नयाँ पुस्तालाई पनि कुलुङ जातिले मनाउने ‘मिनारी–दाचाम् चाक्चाकुर’ बारे प्रस्ट पार्न बृहत् रूपमा जनचेतना फैलाने काम भइरहेको छ ।
त्यसरी तीन/तीन पटक भेला भएका कुलुङ जातिका पितापुर्खा एवं जान्नेबुझ्ने विज्ञका अनुसार प्राचीनकालमा कुलुङ समुदायले ‘मिनारी–दाचाम् चाक्चाकुर’ मनाउँदा बाँसको ढुङ्ग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी, बाँसकै खपटा वा पातमा पस्केर खाने गर्थे । यसरी बाँसको ढुङ्ग्रोमा पकाएको भात र तिहुनलाई कुलुङ भाषामा ‘पितितिम’ भनिन्छ । कुलुङ समुदायले तीन दिनसम्म ‘मिनारी–दाचाम् चाक्चाकुर’ मनाउने क्रममा पहिलो दिन सबैले आआफ्नै घरमा मिठोमसिनो जे छ त्यही पकाएर खाने गरिन्छ भने दोस्रो दिन छोरीचेली माइतीको दीर्घायु, सुखशान्ति र सफल जीवनयापनको कामना गर्न एवं आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरू ‘तोबुवा दोलम्’ भन्छन् । त्यस्तै तेस्रो दिनका दिन माइतीपक्ष पनि छोरीचेलीलाई उही रीतले आशिष दिन भनी छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई कुलुङ जातिले ‘तोबुवा पिलम्’ भन्ने गर्छन् ।
कुलुङ जातिमा ‘मिनारी–दाचाम् चाक्चाकुर’ कसरी मनाउन थालियो ? भन्ने सम्बन्धमा किंवदन्ती रहेको छ । कुलुङ जातिमा चलेको किंवदन्ती अनुसार कुलुङ जातिका विभिन्न (कुलुङ जाति ‘कुलुङ जाति’ चिनिनुअघि, कुलुङ जातिका २३ पुस्ता रहेका थिए) आदिम पुर्खामध्ये खार र दुम्दुलिमका दुई छोरी लोस र खेउ अनि एक छोरा खोक्चिलिप गरी तीन सन्तान रहेका थिए तर तिनीहरू सानो छँदै खार र दुम्दुलिमलाई ललदुम (वनमान्छे–सोक्पा) ले खायो । त्यसपछि दिदीहरू लोस र खेउले भाइ खोक्चिलिपलाई बेवारिसे अवस्थामा छाडेर गए । खोक्चिलिप ठुलो भएपछि बेइलिम्मासँग विवाह गरे । समयक्रममा एक दिन खोक्चिलिपले आफ्नी श्रीमती बेइलिम्मालाई आफ्ना दुई दिदी पनि रहेका थिए भनी बताए । त्यसो हो भने दिदीलाई खोजेर ल्याउन त भनी बेइलिम्माले आग्रह गरेपछि खोक्चिलिप आफ्ना दिदीहरू खोज्न हिँडे । नभन्दै भाइ र दिदीको भेट भयो तर दिदीले भाइ मरिसकेको ठानेका थिए । अकस्मात् त्यसरी भाइसँग भेट भएपछि दिदीहरू आश्चर्यमा पर्नुका साथै सानैमा भाइलाई बेवारिसे अवस्थामा छाडेर गएकोमा पश्चात्ताप गरे । तापनि भाइले आफ्नो घर जान साह्रै आग्रह गरेपछि भाइको आग्रहलाई दिदीहरूले नाइँ भन्न पनि सकेनन् । त्यसैले दिदीहरू भाइको घरमा गएर ‘नयाँ अन्नबालीबाट बनेको मिठोमसिनो खाए, पिए एवं नाचगान गरे, रमाइलो गरे ।’ सोही दिनदेखि कुलुङ जातिले ‘चाक्चाकुर’ पर्व मनाउन थाले । यसरी कुलुङ जातिमा ‘चाक्चाकुर’ पर्व मनाउने प्रचलन सुरु भएको मानिन्छ ।
यसरी हेर्दा ‘मिनारी–दाचाम् चाक्चाकुर’ कुलुङ जातिको महान् तथा प्रमुख चाड (हिन्दु धर्मावलम्बीको दसैँ पर्व सरह) हो । हरेक वर्षको पुस १५, १६ र १७ पर्ने ‘मिनारी–दाचाम् चाक्चाकुर’ को अवसरमा नेपाल सरकारले राष्ट्रियस्तरमा चाहिँ सार्वजनिक बिदा दिइसकेको छैन । केन्द्र र प्रदेश सरकारले सरकारीस्तरमा सार्वजनिक बिदा नदिए पनि विगत सात वर्षदेखि कुलुङ जातिको ऐतिहासिक भूमिका रूपमा रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका, सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकालगायत कुलुङबहुल पालिका/वडाले ‘मिनारी–दाचाम् चाक्चाकुर’ को अवसरमा स्थानीयस्तरमा सार्वजनिक बिदा दिँदै आएका छन् । आशा गरौँ, छिट्टै केन्द्र र प्रदेश सरकारले पनि कुलुङ जातिको महान् पर्व ‘चाक्चाकुर’ को अवसरमा सार्वजनिक बिदा दिने छ ।