• १३ पुस २०८१, शनिबार

निमित्तका भरमा स्थानीय तह

blog

खप्तडछेडेदह गाउँपालिकाको भवन ।

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), पुस १३ गते  । दरबन्दी अनुसार सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा बाजुराका नौमध्ये आठ वटा पालिका निमित्तका भरमा चलिरहेका छन् । स्थानीय सरकार ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ । नगरपालिकाको हकमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र गाउँपालिकाको हकमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने प्रावधान छ । 

सो ऐन अनुसार बाजुराका कुनै पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएर निमित्तका भरमा पालिका चलेका छन् । खप्तडछेडेदह गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ । चार महिनाअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण जोशी सरुवा भएपछि अर्का प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको आर्थिक क्रियाकलाप ठप्प रहेको पालिकाका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो । सङ्घीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृतका लागि समन्वय गरे पनि नपठाउने गरेको उहाँले बताउनुभयो । 

त्यसै गरी गौमूल गाउँपालिका पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा  चलेको छ । सो पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश भट्ट हुन्नुहुन्छ । उहाँ छैटौँ तहको कर्मचारी हुनुहुन्छ । गाउँपालिकामा अधिकृतस्तरको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हो । सङ्घीय सरकारले दरबन्दी अनुसारको कर्मचारी नपठाउने भएकाले निमित्तका भरमा पालिका चलाउनुपर्ने बाध्यता रहेको छ । 

हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चल्दै आएका छन् । हिमालीमा राजबहादुर भण्डारी हुनुहन्छ भने स्वामीकार्तिक खापर गाउँपालिकामा अमरबहादुर रोकाया र जगन्नाथ गाउँपालिकामा रवीन्द्रबहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । 

यस्तै यता बुढीनन्दा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्ने हो तर यहाँ पनि निमित्तका भरमा काम चलाउने गरिएको  छ । 

दुर्गम तथा पिछडिएका जिल्लामा दरबन्दी अनुसारका कर्मचारी आउन नमान्ने भएका कारण निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता रहेको बुढीनन्दाका नगरप्रमुख जनककुमार बोहोराले बताउनुभयो । सङ्घ सरकारले कर्मचारी नपठाउने र कर्मचारी पनि बाजुरामा आउन नमान्ने भएका कारण बाजुराका सबै पालिकामा समस्या भएको उहाँले भन्नुभयो । 

बडीमालिका नगरपालिकामा भने अहिले प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नभई निमित्तका भरमा काम हुँदै आएको छ । पालिकामा दरबन्दी अनुसारको कर्मचारी माग गर्दा सङ्घ सरकारबाट वास्ता नभएका कारण समस्या भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।