कविराज घिमिरे
हिले, पुस १२ गते । धनकुटा नगरपालिका–२, सुन्तलेस्थित सल्लेरी सामुदायिक वनभित्रको रहस्यमयी ओडारसम्म पुग्न सिँढी निर्माण गरिएको छ । रहस्यमयी ओडारसम्म पुग्न धनकुटा नगरपालिकाले पाँच लाख रुपियाँको लागतमा धनकुटा सुन्तले कृषि सडकदेखि करिब ३०० मिटर लामो सिँढी निर्माण गरेको हो ।
ओडारसम्म पुग्न सिँढी नहुँदा पर्यटक भिरमा जोखिम मोलेर जान बाध्य थिए । अहिले रेलिङसहित सिँढी निर्माण भएपछि सबैका लागि सहज भएको धनकुटा नगरपालिकाका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो ।
जङ्गलको बिचमा रहेको ओडारमा जमिनदेखि करिब सात मिटरमाथि ढुङ्गा र माटोको सहायताले पाँच÷छ जना व्यक्ति अटाउने घर निर्माण गरिएको छ । सयौँ वर्ष पुरानो जस्तो देखिने सो संरचना कसले र किन निर्माण गरेको थियो भन्ने कुनै जानकारी नभएको स्थानीय ध्रुव बस्नेत बताउनुहुन्छ । उहाँ आफ्ना पितापुर्खाकै पालादेखि यो रहेको आफूले सुन्दै भएको बताउनुहुन्छ ।
उहाँका अनुसार परापूर्वकालमा पञ्चकन्याको बसोवास रहेकाले भन्दै त्यहँँ पूजाआजा हुँदै आएको थियो ।” माटोले लगाएको गाह्रोको माटो पनि सुकेर पत्थर जस्तै भइसकेको छ । सो अनौठो घरभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन् । केही समय अघिसम्म विभिन्न गरगहना सिमालालगायतका वस्तु रहे पनि १० वर्षे जनयुद्ध ताका ती गरगहना हराएको स्थानीयको दाबी छ ।