जीवछ यादव
लहान, पुस ११ गते । लहान-२२ का रामचन्द्र यादवको दुई करोड मूल्यको घर घडेरी ४५ लाखमै लिलाम गरेपछि किसानहरू आक्रोशित भएर कृषि विकास बैंक शाखा लहानमा तालाबन्दी गरेका छन् ।
४५ महिनाअघि कृषि विकास बैंकबाट लिएको तीस लाख ओडी ॠणको मङ्सिर १८ गते अन्तिम किस्ता तिरेको रामचन्द्र यादवले लहान–१ पूर्वपश्चिम जाने राजमार्गमा रहेको सवा सात धुर जग्गामा रहेको बाह्र कोठे घर पुस १ गते लिलामी गरेपछि किसानहरू सङ्गठित भएर कृषि विकास बैंकमा दवाव दिँदै आइरहेका छन् । चार दिन अगाडि कृषि विकास बैंक लहान शाखामा पुगेका किसानहरूलाई आज बिहीबारसम्म जग्गा फिर्ताको लागि पहल गरिने आश्वासन अनुसार फिर्ता गराउने कुनै पहल नभएपछि आक्रोशित किसानहरूले तालाबन्दी गरेको स्थानीय किसान नेता बालेश्वर यादवले बताउनुभयो ।
गएको मङ्सिर महिना १८ गते किस्ता बुझाएको पीडित किसान रामचन्द्र यादवले पुस १ गते ४५ लाखमा सुनसरी भोक्राका तारा रौनियारले लिलामी थामेर मालपोत कार्यालय लहानमा रजिष्ट्रेसन पास भैसकेको जानकारी मालपोत कार्यालयले मोवाइलमा म्यासेजबाट खबर पाएको पीडित किसान यादवले सुनाउनुभयो । उहाँका अनुसार तीस लाख ॠण १९ लाखसम्म तिरिसकेको छु । ढिलो चाँडो किस्ता तिर्दै आइरहेको छु । गाउँको खेतियोग्य जमिन सुन बेचेर २०५२ सालमा खरिद गरेको दुई करोड मूल्यको घरघडेरी लिलाम भएपछि अन्यायमा पर्दा चारैतिर हारगुहार मागिरहेको छु ।
स्थानीय अगुवाहरूलाई लिएर कृषि विकास बैंक शाखा लहानमा पुगेर प्रबन्धक विवेक पौडेलसँग सोधपुछ गरेपछि लिलामी भइसेकेकोले केहि गर्न नसकिने जवाफ फर्काएपछि किसानहरूले चार दिन अगाडि बैंकमा तालाबन्दी गर्न सुरसार गरेपछि आज बिहीबारसम्मका लागि प्रबन्धक पौडेलले समय लिइको थियो । आज गरेको सहमति अनुसार पीडित किसान रामचन्द्र यादवको जग्गा फिर्ताका लागि कुनै पहल नहुँदा तालाबन्दी गर्नुपरेको पीडित किसान रामचन्द्र यादवको साथ बैंक आएका किसानहरूले बताउनुभयो । यता कृषि विकास बैंक लहान शाखाका प्रबन्धक विवेक पौडेलले लिलामी प्रक्रिया पूरा भइसकेपछि फिर्ता गराउन गरेको पहल सफल हुन नसकेको बताउनुभयो ।
कृषि विकास बैंक लहान शाखाले निरन्तर किस्ता बुझाउँदै आएको एक सोझो किसान रामचन्द्र यादवले तीस लाखमध्ये १९ लाख तिरिसकेको अवस्थामा बिना सूचना लिलामी गर्नु भनेको मिलोमतोमा यस्तो भएको आशङ्का देखिएको सङघीय सांसद गङगाप्रसाद यादवले बताउनुभयो । यस विषयमा सम्बन्धित निकायमा आफूले पहल थालिसकेको उहाँले बताउनुभयो । कहिबाट जग्गा फिर्ता नभए लहानबाट किसान आन्दोलन हुने उहाँले चेतावनी सांसद यादवले समेत दिनुभयो ।
बैंकमा तालाबन्दी गर्ने समयमा आक्रोसित किसानहरूको भीडलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल लहान र इलाका प्रहरी कार्यालयबाट आएका प्रहरीलाई केहि समय हम्मेहम्मे परेको थियो ।