• १२ पुस २०८१, शुक्रबार

कागतेमा सुन्तला खेती मौलायो

blog

सुन्तलाको बगान । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, पुष ११ गते । कागतेमा सुन्तला खेती मौलाएको छ । धनकुटामा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् । 

दश वर्षअघि सुन्तलाका बिरुवा रोपेर व्यावसायिक उत्पादनमा जोडिएका धनकुटा नगरपालिका ३ का स्थानीयले पछिल्लो समय सुन्तला बिक्री गरेर राम्रो आम्दानी लिन थालेका छन् । 

दुई सय बिरुवा रोप्नुभएका धनकुटा ३ कागते निवासी ख्यामप्रसाद भण्डारीले यो वर्ष एकलाख पचास हजारभन्दा बढीको सुन्तला बिक्री गरेको बताउनुभयो । 

सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै आम्दानी बढ्दै गएको भन्दै उहाँले गतवर्ष ५ क्विन्टल सुन्तला बिक्री गरेकोमा यो वर्ष अहिलेसम्म १०-१२ क्विन्टल सुन्तला बिक्री गरिसकेको बताउनुभयो । बोटमा राम्रो फल लागेको र पाक्ने क्रम जारी रहेकाले अझै बिक्री हुने बताउनुभयो । 

घरबाटै  प्रति केजिको एकसयका दरले दश हजार रुपियाँ प्रति क्विन्टलका दरले सुन्तला बिक्री भइरहेको भन्दै भण्डारीले भन्नुभयो, “सुन्तला बिक्रीमा समस्या भएको छैन । अहिले घरबाटै उत्पादन भएको सुन्तला बिक्री भइरहेको छ ।"

बाँदरका समस्याले बारीमा अन्नबाली राम्रो उत्पादन नहुने र उत्पादन भइहाले पनि जङ्गली जनावरहरुले खाने भएपछि अन्य बाली छोडेर सुन्तला खेती गर्न थालेको भन्दै उहाँले भन्नुभयो, “सिँचाइको सुविधा नहुँदा अन्नबाली खासै राम्रो हुँदैनथ्यो तर सुन्तला रोपेको राम्रो फलिरहेको छ ।"

सुन्तला उत्पादनका लागि धनकुटाको कागते नयाँ ठाउँ नभएकाले पनि बिक्रीमा समस्या नभएको बताउनुभयो । उहाँका अनुसार उत्पादन भएका सुन्तला धनकुटा नजिकैका बजार, धरान, इटहरी, दमक, विराटनगर, काठमाडाैंलगायतका बजारसम्म जाने गरेका छन् । उत्पादन कम भइरहेकाले माग अनुसार पुर्‍याउन समस्या भइरहेको भन्दै उहाँले भन्नुभयो, "सुन्तलाको टेस्ट राम्रो भएकाले होला बिक्रीमा समस्या छैन । अन्य सहरहरुबाट पनि माग भइरहेको छ ।"

कागतेकै अर्का किसान नवीन कार्की, डिल्लीबहादुर कार्की, मीनबहादुर कार्कीहरु पनि व्यावसायिक रूपमा सुन्तला खेतीमा लाग्नुभएको छ । १५ वर्षअघि रोपेका सुन्तलाले पाँचवर्ष अघिदेखि उत्पादन दिन थालेपछि आम्दानी हुन थालेको कार्की परिवार बताउनुहुन्छ ।

किसान कार्कीले रोपेका दुई सय बिरुवामध्ये एकसय वटा बिरुवाले उत्पादन दिन थालेको भन्दै नवीनले भन्नुभयो, "रोपेका सबै बोट उत्पादन दिने अझै भइसकेका छैनन् । सय वटा बोटले उत्पादन दिन थालेका छन् । राम्रै फल लागिरहेको छ ।" यो वर्ष करिब ४ क्विन्टल बराबरको सुन्तला प्रतिकेजी ९० देखि १०० रुपियाँका दरले बिक्री गरेको बताउनुभयो । 

खाद्यान्न उत्पादनभन्दा फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उहाँले भन्नुभयो, “मकै, तोरी लगायतका कृषि बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले १५ वर्षअघि सुन्तला रोपेको थिएँ । अहिले राम्रो आम्दानी भइरहेको छ ।"

सुन्तलाको बगानमा अकबरे खुर्सानी, बन्दाकोपी, ब्रोकाउली, फूलकोपी खेतीसँगै सुन्तला खेती गर्न सकिने भएकाले गाउँका करिब ६० घरधुरीमध्ये ५० घरपरिवारले व्यावसायिक सुन्तला खेती गरिरहेको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ बताउनुहुन्छ । पहाडी क्षेत्र भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले धनकुटा नगरपालिकालाई सुन्तला जोन घोषणा गरी गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नेगरी लागेको छ ।

सुन्तलाको राम्रो उत्पादनसँगै बिक्री हुन थालेपछि किसान उत्साहित भएको भन्दै नगरप्रमुख तामाङ्गले भन्नुभयो, “सिँचाइको सुविधा नहुने भिरालो जमिनका कारण खासै राम्रो अन्नबाली हुँदैनथ्यो तर सुन्तला भने राम्रो फल्न थालेको छ । यसले किसानलाई उत्साहित बनाएको छ ।" नगरप्रमुखका अनुसार गाउँमा करिब ५० घरपरिवारले  व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।  

सुन्तला पाक्ने समयमा यतिबेला गाउनै पहेलपुर देखिएको छ । सुन्तलाको पहेलो कलरले रंगिएको खेतबारी जो कोहिको मन लोभ्याउने र आकर्षक देखिएको छ ।