श्यामशंकर पाण्डे
लुम्बिनी, पुस ११ गते । सिमावर्ती सहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देही सदरमुकामा समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षीत बनाउन सिद्धार्थनगर नगरपालिकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।
यहाँ हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन सिस्टम’ (एएनपिआर) जडान गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले जडान गरिएको अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार भैरहवालाई सुरक्षित पार्न देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहीया वाईपासमा एनएनपिआर क्यामरा जडान गरीएको छ । उहाँले यसबाट सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिको समेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने बताउनुभयो ।
जसका कारण प्रहरीलाई अपराध नियन्त्रणमा समेत सहयोग पुगिरहेको उहाँको दाबी छ । उहाँका अनुसार यसबाहेक सिद्धार्थनगर नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसिटीभी क्यामरा जडान गरेर नगरका गतिविधिहरू निगरानी गर्दै आएको छ ।
बुद्धचोक, मायादेवी तरकारी बजार छिर्ने चोक, बसडिलहवा जाने चोक, ब्रमेलीटोल, जनकपथ, देवकोटा चोक, मिलचोक, बिद्रोही चोक, भाजुरत्नचोक, आँखा अस्पताल, मेउडीहवा, उद्योगपुरी, मायादेवी चोक, भैरहवा क्याम्पस अगाडि, बसपार्क, निमार्ण चोक लगायतका स्थानमा सिसिटीभी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिनुभयो । अावश्यकताको आधारमा थप एएनपिआर र सिसिटीभी क्यामरा जडान गर्ने योजना नगरपालिकाको रहेको उहाँले बताउनुभयो ।