• ११ पुस २०८१, बिहिबार

चिसोले जम्न थाल्यो पानी

blog

जुम्ला समाचारदाता 

जुम्ला, पुस ११ गते । चिसो बढ्दै गएपछि जुम्लाको जनजीवन प्रभावित भएको छ । तापक्रम माइनस डिग्रीमा झरेपछि चिसोले हैरान बनाएको छ । चिसो बढेपछि मानिस घरमा चोकमा आगो बाल्ने तथा हिटर प्रयोग गरिरहेको पाइएको छ । धारा तथा भाँडामा रहेको पानी जम्न थालेको छ । 

जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका कर्मचारी आसमपुरा कार्कीका अनुसार जुम्लाको तापक्रम माइनस ५.१ डिग्रीमा झरेको छ । जुम्लामा तापक्रम माइनस डिग्रीमा झरेपछि धारामा पानीसमेत जम्न थालेको हो । सडक क्षेत्र, नालासहितको स्थानमा पानी जमेको छ । मानिसले धारामा तातोपानीको सहायतामा पानी निकाल्नु परेको छ । सडकमा पाइप फुटेको स्थानमा बरफसमेत जमेको हुँदा पानी आपूर्ति बन्द भएको छ । गुठीचौर गाउँपालिका–५ स्थित स्थानीय रञ्जना भण्डारीका अनुसार दुई दिनदेखि अत्यधिक चिसो बढेको छ । धारामा पानी घाम लागेपछि मात्रै आउने गरेको भन्दै जमेको पानीमा तातोपानी हाल्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । चिसोले गाउँमा काम गर्न पनि कठिन भएको छ । 

चिसोले ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार धेरैजसो बिरामी रुघाखोकीका आउने गरेका छन् । चिकित्सकले चिसोको समयमा बालबालिकालाई निमोनिया हुन सक्ने भएकाले न्यानो लुगा लगाइ राख्न तथा प्रशस्त मात्रामा स्तनपान गराउन पनि सुझाव दिएका छन् । यतिमात्र नभई मानिस गाउँघरतिर न्यानोका लागि दाउरा काट्ने र जुटाउने पनि काम गरिरहेका छन् । चिसोसँगै जुम्लाको उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सकेको थिएन । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले हिमपातमा दाउरा तयार गर्ने योजना समेत गरेको छ । प्रहरी नायब उपरीक्षक क्षदीलाल कामतीका अनुसार जिल्ला वन कार्यालयलाई दाउराका लागि समन्वय गरिएको छ । उहाँले जुम्लाको मुख्य बजार क्षेत्रको चोक चोकमा हिउँदको सिजनमा दाउरा राखेमा ड्युटीमा रहेका प्रहरी, बाटोमा हिँड्ने नजिकका व्यक्ति, उद्योगी व्यापारी र नागरिकलाई आगो ताप्न सहज हुने जनाउनुभयो ।