• ११ पुस २०८१, बिहिबार

वार्षिक दुई करोडको निःशुल्क उपचार

blog

रुकुम समाचारदाता

रुकुमपश्चिम, पुस ११ गते । रुकुमपश्चिमको चौरजहारी अस्पतालले हरेक वर्ष एक करोडभन्दा बढी रकमको उपचार सेवा निःशुल्क गर्दै आएको बताएको छ । अस्पतालमा सञ्चालित आमा सुरक्षा, साथी सेवा, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग निवारण, बालबालिकाको उपचारलगायतका कार्यक्रममार्फत निःशुल्क सेवा प्रदान भइरहेको हो । 

अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीलाई समेत उपचार सेवा निःशुल्क गर्ने गरेको जनाएको छ । चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीका अनुसार अस्पतालमा उपचारका लागि आउने वार्षिक करिब तीन हजार पाँच सयभन्दा बढी बिरामीको उपचार निःशुल्क हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ५८३ बिरामीले उपचारमा ‘च्यारिटी’ अर्थात् निःशुल्क सेवा पाएका छन् । यो उपचार सेवा दुई करोड २३ लाख ७१ हजार ५७७ रुपियाँ बराबरको हो । त्यसै गरी आव २०७९/८० मा तीन हजार ६८३ जनालाई एक करोड ७२ लाख ६१ हजार ८७७ रुपियाँ बराबरको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासक गिरीले सेवाभावबाटै चिनिएको अस्पताल भएकाले सेवा गुणस्तरीय, सरल र विपन्न वर्गको समेत पहुँचयोग्य बनाउन प्रतिबद्ध भएको बताउनुभयो । उहाँले अस्पतालमा भर्ना हुने पाँच वर्षमुनिका बालबालिकाको सबै उपचार सेवा निःशुल्क नै गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक दुई हजार बालबालिकाको उपचार निःशुल्क हुने गरेको तथ्याङ्क अस्पतालमा रहेको छ । यसबाट करिब ९० लाख रुपियाँ खर्च हुने गरेको छ । यसै गरी अस्पतालले साथी सेवामार्फत १६ वर्षमुनिका बालबालिकाको मुटु रोगको उपचार खर्च बेहोर्ने गरेको छ । यस अन्तर्गत जलनको समस्या रहेका, जन्मजात अपाङ्गता भएका बालबालिकाको जाँच, उपचार र थप रिफर सेवा पनि निःशुल्क नै हुने व्यवस्था मिलाइएको छ । 

आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले अस्पतालमै सुत्केरी भएबापत दिने यातायात र प्रोत्साहन भत्तामा चौरजहारी अस्पतालले सुत्केरी महिला अस्पतालबाट डिस्चार्ज नहोउन्जेलसम्मको खर्च बेहोर्ने गरेको छ । यसका साथै नवजात शिशुका लागि न्यानो कपडासमेत अस्पतालले दिने गरेको छ । अस्पतालका तथ्याङ्क अधिकृत घुर्क बुढाथोकीका अनुसार अस्पतालमा हुने सामान्य, जटिल र शल्यक्रियामार्फत हुने सुत्केरी सेवा निःशुल्क रहेका छन् । बुढाथोकीले आव २०७८/७९ मा ९९३ जना, २०७९/८० मा ९०८ जना र २०८०/८१ मा ८५३ जना महिलाले सुत्केरी सेवा लिएको बताउनुभयो । त्यसमध्ये क्रमशः १३९ जना, १२२ जना र १३५ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्मदिएका छन् । तथ्याङ्क अधिकृत बुढाथोकीले चालु आर्थिक वर्षको साउन महिनायता ३९० जनाले सुत्केरी सेवा लिएकोमा ७३ जनाको शल्यक्रिया गरिएको बताउनुभयो । यी सबैलाई अस्पतालमा रहेसम्म निःशुल्क उपचार गर्ने व्यवस्था रहेको छ ।