• १० पुस २०८१, बुधबार

उखु बोकेका साधनलाई गाउँ प्रवेशमा रोक

blog

उखु बोकेका ट्याक्टर र ट्रक । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, पुस १० गते । सर्लाहीको धनकौल गाउँपालिका–२, धनकौल गाउँमा स्थानीय बासिन्दाले उखु बोकेका ट्याक्टरलाई गाउँको बाटो भएर हिँड्न रोक लगाएका छन् ।  उखु लोड गरेर गाउँ हुँदै चिनी मिलतर्फ जाने ट्याक्टरलाई विद्युतीय जोखिमका कारण प्रवेशमा प्रतिबन्ध लगाइएको हो । ट्याक्टरमा अत्यधिक उखु लोड गर्दा विद्युतीय तारमा छोइने समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।

कतिपय ठाउँमा तार चुँडिने, कतै तारलाई उखुले छोएर विद्युत् सर्ट हुने घटनाले गाउँमा करेन्ट लाग्ने र आगलागीको जोखिम बढाएको स्थानीय रामएकवाल सहनीले जानकारी दिनुुभयो । सावधानी अपनाउन स्थानीयले यस्तो निर्णय गरेको सहनीले बताउनुभयो । 

निकै अग्लो बनाएर उखु लोड गरिएको ट्याक्टर गुडाउँदा बिजुलीको नाङ्गो तारमा छोएपछि विद्युत् प्रवाहमा बारम्बार समस्या भइरहेको स्थानीयको भनाइ छ । उल्टै ट्याक्टर चालकले स्थानीयसँग विवाद गर्ने गरेपछि ट्याक्टर आवागमनमा रोक लगाउन बाध्य भएको सहनीले जानकारी दिनुुभएको छ । गाउँलेले उखु बोकेका ट्याक्टरलाई नहरको बाटो भएर लानुुपर्ने माग गरेका छन् ।