कालीकोट समाचारदाता
कालीकोट, पुस १० गते । स्थानीय तह निर्माण हुँदा घरआँगनकै सरकारमा सिप अनुसारको रोजगारी पाइन्छ भनी आस गर्ने युवा यतिखेर विदेश पलायन हुन बाध्य भएका छन् ।
रास्कोट नगरपालिका–३ का जग्गबहादुर फडेरा तत्कालीन नेकपा (माओवादी) का लडाकु हुनुहुन्थ्यो । माओवादी शान्ति प्रक्रियामा आएसँगै उहाँ वाइसिएलमा जानुभयो । त्यतिबेला पूर्वलडाकुलाई वाइसिएलमा राखेर गाउँका युवालाई जनसेनामा भर्ती गरिएको दाबी गरिएको छ । तिनै पूर्वलडाकु अहिले भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि भौँतारिइरहेका पाइन्छ । उहाँले छोराको पढाइ र घरखर्च धान्न भारतमा रोजगारी गर्नु परेको बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचनदेखि हरेक निर्वाचनमा आफ्नो दललाई जिताउन रातदिन नभनी खटे तर विजय भएकाहरूले आफन्तलाई अवसर दिन थालेपछि आफू बाध्य भएर भारत पस्नु परेको दुःखेसो पोख्नुभयो । फडेरा जस्तै रास्कोटका सयौँ युवा अहिले कोही भारत त कोही तेस्रो मुलुक खाडी पुगेका छन् ।
निवर्तमान नगरप्रमुख काशीचन्द बरालले श्रमको विकास गर्न २६० सदस्य रहेको श्रम रोजगार बैङ्क स्थापना गर्नुभएको थियो । त्यहाँ सबै दलमा आस्था राख्ने खास गरेर दुःख गर्न सक्ने युवा, पारिवारिक अवस्था कमजोर भएका व्यक्ति सदस्य थिए । उनीहरू नगरका हरेक विकासे काममा सहभागी हुने र मासिक २५ हजारदेखि ४० हजार रुपियाँसम्म पारिश्रामिक बुझ्ने गरेका थिए । एकातिर युवालाई रोजगारी र अर्कातिर श्रम शक्ति सञ्चित गर्ने उद्देश्य थियो ।