• १० पुस २०८१, बुधबार

राजनीतिक परिवर्तनजस्तै आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेस सक्षम : उपप्रधानमन्त्री सिंह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह।

रूपन्देही, पुस ९ गते। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस रूपन्देहीले मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उहाँको भनाइ छ। 

“जसरी राजनीतिक अधिकार गुमेको बेलामा कांग्रेसले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ”, उहाँले भन्नुभयो “तर त्यसका लागि कांग्रेस साङ्गठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ। जनताले चाहेको जीवन र जिविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।”

कांग्रेस पूर्वमहामन्त्री समेत रहनुभएका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताउनुभयो।उहाँले कांग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धीबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो।

सिंहले रूपन्देहीमा रहनुहुँदा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको अवलोकन गर्नुहुनेछ।