गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ९ गते । निजी मेडिकल कलेजलाई समेत चिकित्सा शिक्षा स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव दिइएको छ ।
चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदनमा आठौँ तहले पाउने तलबबराबरको निर्वाह भत्ता दिन सुझाव दिएको हो । उक्त प्रतिवेदन कार्यदलले स्वास्थ्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको छ ।
अतिरिक्त सचिव टङ्क बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइएसरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिब हुने रायसहितको प्रतिवेदन दिएको हो । प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले कार्यदलको सुझाव कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।