अर्जुन काफ्ले
स्याङ्जा, पुस ८ गते । नेपाली सेनाका धावक करण रावल पाँचौँ क्रस कन्ट्री दौड च्याम्पियन बन्नुभएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगितामा सोमबार भएको प्रतियोगितामा रावलले एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा २५ किमी दूरी पार गर्नुभयो । उपाधिसिहित उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
सेनाकै टङ्कबहादुर कार्कीले एक घण्टा ३२ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो रमेश लिम्बुले एक घण्टा ३२ मिनेट ५९ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । कार्कीले ४० हजार र लिम्बुले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
२१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटरमा सनम गुरुङले ४६ मिनेट ३५ सेकेन्डमा दौडँदै पहिलो हुनुभयो ।गुरुङले १५ हजार रुपियाँ पाउनुभयो ।पदमबहादुर मानन्धर दोस्रो र रुद्र बुढाथोकी तेस्रो हुनुभयो । महिलातर्फ रविना बुढामगरपहिलो र विमला मानन्धर दोस्रो हुनुभयो ।
विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विद्यार्थीको समूह विजेता र उपविजेता बन्यो । जनजागृति माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान हासिल गरेको छ । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरन्द्रराज पाण्डेले पुरस्कार प्रदान गर्नुभयो ।