नारायणगढ, पुस ७ गते । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्याभन्दा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा यसरी मर्ने गैँडा दोब्बरभन्दा बढी छ ।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अविनाश पुनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा मरेका १२ वटा गैँडामध्ये प्राकृतिक कारणले मर्नेको सङ्ख्या ११ वटा छ । जब कि अघिल्लो आर्थिक वर्षको यही अवधिमा मरेका आठ वटा गैँडामध्ये पाँच वटा प्राकृतिक कारणले मरेका हुन् । यो वर्ष विद्युतीय धरापमा परेर एउटा गैँडा मरेको छ भने अघिल्लो वर्ष तीन वटा गैँडा चोरी सिकारीले मारेका छन् ।
अधिकृत पुनले निकुञ्जमा आपसमा जुधेर, ढिस्कोबाट लडेर, दलदलमा फसेर, बाघले खाएर, बिरामी भएर र बुढो भएर मर्ने गैँडालाई प्राकृतिक कारणले मरेको भनिने जानकारी दिनुभयो ।
गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती वनमा ३१ वर्षको पोथी र मङ्सिर १३ गते ध्रुवपोस्टनजिकै ३५ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको र त्यो कालगतिले मरेको निकुञ्जले विज्ञप्ति निकालेर जनाएको थियो । उता गत वर्षको साउन २० गते नवलपरासीको अमलटारीस्थित श्रीपोस्टनजिकै करिब पाँच महिनाको गैँडाको बच्चा मृत भेटियो । यसको पोस्टमार्टम गर्दा बाघले सिकार गरेको भेटिएको पुनले जानकारी दिनुभयो ।
यस्तै गत वर्र्षकै भदौ २६ गते राप्ती नदी किनार क्षेत्रको लामाचोकमा आपसमा जुधेर साढे तीन वर्षको गैँडा म¥यो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त अघिल्लो वर्षभन्दा पनि यो वर्षको पाँच महिनामा प्राकृतिक कारणले गैँडा मर्ने क्रम चिन्ताजनक रूपमा बढेको बताउनुहुन्छ ।
“चोरीसिकार नियन्त्रण हुँदै गर्दा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढे जस्तो देखिएको छ । अहिले मरेका गैँडालाई अस्वाभाविक नै मान्न सकिँदैन तर पनि गैँडा एकपछि अर्को मर्दै जानु चिन्ताको विषय हो,” उहाँले भन्नुभयो । प्राकृतिक कारणले गैँडा मर्नुका कारण अध्ययन हुनुपर्ने उहाँको भनाइ छ तर यो वर्ष बाढीका कारण केही गैँडा गुमाउनुपरेको उहाँले जानकारी दिनुभयो ।
कति गैँडा बाढीले बगाएर मरे वा भारत पु¥याए भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन । २०७३ सालको साउन अन्तिम साता आएको बाढीले बगाएर भारत पु¥याएकामध्ये १० वटा गैँडा उद्धार गरी ल्याइएको तथ्याङ्क निकुञ्जसँग छ । भारतको वाल्मीकि टाइगर रिजर्भ र डिभिजन फरेस्टमा त्यो बेला तीन वटा गैँडा भेटिए पनि त्यसलाई नेपाल फर्काउन सकिएको थिएन । अहिले पनि बगाएर लगेका गैँडा उतै रहने गरेको बताइन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य बाढीका कारण निकुञ्जभित्रका पोखरीको संरचना परिवर्तन हुँदा पनि गैँडा मरेको हुन सक्ने धारणा राख्नुहुन्छ । “गैँडा मात्रै होइन, कुनै पनि प्राणीको जन्म र मृत्यु स्वाभाविक मान्नु पर्छ तर यो वर्ष आएको बाढीले निकुञ्जभित्रका धेरै पोखरी दलदलमा परिवर्तन भएको गैँडाले थाहा नपाउँदा ज्यान गएको हुन सक्छ,” उहाँले भन्नुभयो । पारवहन क्षमता र वासस्थानको अवस्थाले पनि गैँडाको मृत्युको आधार बन्ने विज्ञहरूले औँल्याएका छन् ।
“निकुञ्जमा पहिला २० प्रतिशत घाँसे मैदान थियो । अहिले त्यो घटेर दस प्रतिशतभन्दा कममा सीमित भएको छ । राप्ती र नारायणी नदीमा बर्सेनि आइरहने बाढीले निकुञ्जका पोखरी पुरिँदै गएका छन्,” निकुञ्जका एक अधिकारीले भन्नुभयो । राप्ती नदीमा लगाइएको बाँधले पानीको धार परिवर्तन गर्न नपाउँदा पनि समस्या भएको बताइन्छ ।
“बाँध नहुन्जेल पानीको धार कहिले कताबाट कहिले कताबाट बग्थ्यो । पानी नबगेका ठाउँमा घाँसे मैदान र पोखरीहरू हुन्थे तर अहिले त्यो भएन । बाँधले अहिले पानीको बहाव एकै ठाउँबाट लैजाँदा यो समस्या आयो,” उहाँले भन्नुभयो । उहाँले चुरे र महाभारत शृङ्खलामा भइरहेको अनियन्त्रित विकास योजनाले जथाभाबी डोजर लगाइँदा पनि त्यहाँका माटो पानीले बगाएर निकुञ्जमा ल्याउँदा घाँसे मैदान र पोखरीहरू पुरिरहेको पनि जानकारी दिनुभयो ।
गैँडा घाँस खाने र पानीमा आहाल खेल्ने जनावर हो । घाँसे मैदान र पोखरी पुरिँदा यो समस्यामा आएको अनुमान विज्ञहरूको छ । इकोलोजिस्ट आचार्य दलदलमा फसेका गैँडा र बाघले घाइते बनाएका गैँडाको बच्चालाई तत्काल उद्धार गरी उपचार गराउन सकिए गैँडाको
प्राकृतिक मृत्यु दर घटाउन सकिने बताउनुहुन्छ । पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन् । चितवनका अलावा पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।