सुदूरपश्चिम, पुस ५ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिनुभयो।
“यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो। संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्र्छ। अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ। यस्तो हुनुहुँदैन”, नेता डा. कोइरालाले भन्नुभयो।
उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पार्नुभयो। नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुग्नुभएको हो। उहाँलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए।