• ८ पुस २०८१, सोमबार

आईजीपी कप फुटबलको उपाधि एपीएफ स्कुल कीर्तिपुरलाई

blog

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरबाट ट्रफी र पुरस्कार ग्रहण गर्दै विजेता स्कुलका व्यवस्थापक र खेलाडी । तस्बिरः एपीएफ स्कुल

काठमाडौँ, पुस ५ गते। ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) कप फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुल कीर्तिपुरले उचालेको छ।

नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ गतेदेखि सञ्चालनमा रहेको ३०औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८१ को उपाधि आयोजक स्कुललाई ३-० ले स्तब्ध पार्दै एपीएफल कीर्तिपुरले उचालेको हो।फाइनल खेलमा एपीएफ कीर्तिपुरले एक गोल उपहार पाएको हो भने अन्य दुई गोल विकास बोहरा र अविन बस्यालले गर्नुभयो।

विद्यालयस्तरको सबैभन्दा पुरानो र ६० हजार राशि पुरस्कार भएको  प्रतियोगिताको फाइनल खेल नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। विजेता विद्यालय समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र के.सी  विद्यालयका प्राचार्यसँगै फुटबल टिमका व्यवस्थापक र खेलाडीलाई महानिरीक्षक कुँवरले संयुक्त रुपमा नगद पुरस्कार र शिल्ड हस्तान्तरण गर्नुभयो ।

फाइनल खेलमा नेपाल एपीएफ स्कुलका दिपेश गुरुङ्ग  म्यान अफ दी म्याच घोषित हुनुभयो।एपीएफकै अविन बस्याल  उच्च गोलकर्ता बन्दा  पावन बुढा उत्कृष्ट गोल किपर बन्नुभयो।उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि आईजीपी कुँवरले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो।


कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिताको द्वितीय हुने टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो।साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र अखिल नेपाल फुटबल संघका उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताको तृतीय टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।  

प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम हुँदा नेपाल पुलिस स्कुल साँगा (रातो) टिम द्वितीय र नेपाल पुलिस स्कुल धरान टिम तृतीय भए। प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, नेपाल एपीएफ स्कुलसँगै काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका गरी १५ विद्यालयका १६ टिम सहभागी थिए।