• ८ पुस २०८१, सोमबार

इमानदार प्रयास अपेक्षित

blog

नेपाल कसरी बनाउन सकिन्छ भन्ने चिन्ता र चासो अहिले नेपाली जनतामा व्याप्त छ । समुद्रमा पानी धेरै बगिसकेको छ । नेपालमा दोस्रो पटक बहुदल आएको ३५ वर्ष भइसक्यो । यसबाट भएन भनेर नेपाली जनताले सङ्घर्षका साथ धेरैले ज्यानसमेत बलिदान दिएर नेपालमा पहिलो पटक ल्याएको गणतन्त्र पनि १८ वर्ष हुन लागेको छ । यति गर्दा पनि अहिलेसम्म मुलुकले विकासको ठोस गन्तव्यको बाटो समातेको देखिँदैन । मुलुक अस्थिरताको सिकार बनेको छ । जनतामा निराशा छाएको छ । रोजगारी र गुणस्तरीय शिक्षाको अभावले दैनिक दुई हजारको हाराहारीमा युवाजनशक्ति विदेश गइरहेका छन् । अब यो सङ्ख्या करोडको  हाराहारीमा पुग्न लागेको चर्चा छ । हालसम्म कुल २६ खर्बभन्दा धेरै ऋणको भार नेपालीको टाउकोमा परिसकेको छ । यो ऋण यसरी तिर्ने भन्ने बारेमा सरकारले भन्न सक्ने अवस्था पनि देखिँदैन । ब्याज मात्र तिर्न धौ धौ परेको अवस्था छ । यही भएर मित्रराष्ट्रले अनुदान र ऋणसमेत पत्याउन मुस्किल परेको परिदृश्य देखिन लागेको छ । अहिलेसम्म आएको अनुदान र ऋणको सही उपयोग नभएको देखेर यो अवस्था आएको राजनीतिक विश्लेषकको भनाइ सञ्चार माध्यममा आएको देखिन्छ, सुनिन्छ । मौजुदा यी समस्या र भनाइको समाधानका उपायको बारेमा अहिलेसम्म कहीँ कतैबाट ठोस रूपमा आएको देखिँदैन । अहिले आमनेपाली जनताको चिन्ता र चासो यही भएको छ र यो सबैले चिन्ता गर्नुपर्ने विषय पनि हो । यही चिन्ता र चासोलाई चिर्न निम्न अनुसारका काम आजैदेखि गर्न सुरु गरेमा नेपाल बनाउन सकिन्छ भन्ने दृढ विश्वास छ : 

कृषि उत्पादकत्व वृद्धिमा जोड 

 नेपाल कृषिप्रधान मुलुक हो । सरकारले पनि यो यथार्थलाई सधैँ स्वीकारेकै छ । यसो भएकाले जसको र जुन सरकार आए पनि यसमा कुनै फरक पर्दैन । जुन सरकार आए पनि आँखा चिम्लेर कृषिमा जोड दिनुको विकल्प छैन । पहिले भारत र कोरियालाई समेत अन्न निर्यात गरेको नेपाल अहिले अर्बौंको चामल भारतसमेतका देशबाट आयात गरिरहँदा यसबारे हामीले चिन्ता र चासो लिएर कृषि उत्पादकत्व वृद्धिको काम सुरु नगर्नु विडम्बना भएको छ । प्रत्यक्ष र परोक्ष रूपमा अधिकांश नेपाली कृषिमै निर्भर रहेको सत्य हो । विकासको पहिलो र प्रचुर सम्भावना पनि कृषि क्षेत्रको उत्पादन वृद्धिबाटै सम्भावना भएकोमा पनि दुईमत नहोला । दिनानुदिन युवा जनशक्ति पलायन भइरहेकाले नेपालमा भएको जमिन पनि बाँझो रहने अवस्था हुन लागेको छ । नेपालमा वृद्धवृद्धाको मात्र बास हुने अवस्था सिर्जना भएको छ । त्यसैले यो व्रmमलाई तत्काल रोक्न नेपाल सरकारले नीति ल्याएर नेपालमा भएको जमिनलाई समग्रमा उर्बर बनाउने हो भने अहिलेको पाँच गुणासम्म उब्जाउन सम्भव छ र नेपाल आत्मनिर्भर हुन सक्छ । यसका लागि उन्नत खेती गर्न आवश्यक छ । समग्रमा सरकारले उन्नत बिउबीजन, मल, खाद्य सिँचाइ र प्रविधिमा जोड दिन आवश्यक छ । अहिलेकै झैँ उहिलेको प्रविधिबाट खेती गरेर सम्भव हुँदैन । यही प्रविधिबाट त उही कट्ठे मन मात्र हो । अहिलेसम्म यता सरकारसमेत कसैले ध्यान दिएको छैन । यो सोच नल्याएसम्म नेपालले सही रूपमा विकास गर्नै सक्दैन । अहिलेको समस्या झन् झन् खाडल बनेर जाने छ । त्यसैले सरकार र नेपाली जनता मिलेर कृषि उत्पादकत्वमा जोड दिँदै अन्न, तरकारी र फलफूलमा हामी आत्मनिर्भर हुन सके मात्र नेपालले विकासमा फड्को मार्ने छ । यदि नेपाललाई आत्मनिर्भर बनाउने र विकासमा फड्को मार्ने हो भने पहिलो चरणमा कृषि उत्पादकत्वको वृद्धिको विकल्प छँदै छैन । 

रोजगारीमा जोड 

काम नपाएर संसारभरिका देशमा नेपाली पुग्न थालिसकेका छन् । किंकर्तव्यविमूढको अवस्थामा युवा जनशक्ति पुगेको छ । केही नलागेर भारत र खाडी मुलुकमा समेत गएर ज्यान जोखिममा पारेर भए पनि काम गरिरहेका अवस्था छ । कतिले ज्यानै गुमाइसकेका छन् भने कतिले दर्दनाक अवस्थामा जीवन बिताइरहेका छन् । यो विषयमा सरकार तत्कालै गम्भीर हुन जरुरी छ । यो अवस्थाको तत्कालै समाधान खोज्न आवश्यक छ । यसको समाधान भनेकै रोजगारी सिर्जना गर्नु हो । रोजगारीको प्रचुर र सजिलै सम्भावना भएको क्षेत्र भनेकै कृषि हो भन्ने तथ्य माथि नै भनिसकिएको छ । त्यसैले कृषि क्षेत्रबाट लाखौँ रोजगारी सिर्जना गरेर बिदेसिएका युवा जनशक्तिलाई स्वदेशमै फर्काउन सकिन्छ । विदेश कोही रहरले गएकै होइनन् । विदेश जानु बाध्यता हो । रोजगारीको अभाव हो । यसको समाधान नगरी मुलुकमा विकास सम्भव हुँदैन र स्थिरता र शान्ति पनि सम्भव देखिँदैन । त्यसो भएकाले वर्तमान राजनीतिक नेतृत्वले स्तरीय र स्थायी रोजगारीको व्यवस्था गर्न अपरिहार्य छ । प्रधानमन्त्री रोजगार जस्ता टालटुले रोजगारीले अहिलेको भिमकाया रोजगारीको समस्या समाधान हुन सम्भव देखिँदैन । वर्तमान जल्दोबल्दो समस्याको समाधान गर्न सरकारले शीघ्राति शीघ्र कृषिमा समेत रोजगारी सिर्जना गर्न अपरिहार्य भइसकेको छ । 

गुणस्तरीय शिक्षाको व्यवस्था 

 जुनसुकै देश विकासको आधार स्तम्भ भनेकै शिक्षा हो । अहिले नेपालको जल्दो बल्दो समस्या भनेकै गुणस्तरीय शिक्षाको अभाव भएको छ । यही भएकाले मध्यम स्तरीय जनशक्ति भारत र खाडी मुलुकमा र उच्चस्तरीय जनशक्ति अमेरिका, क्यानडा, बेलायत र अस्ट्रेलियासमेतमा गुणस्तरीय शिक्षा लिनका लागि गएर शिक्षा ग्रहणपछि पनि उतै काम गर्ने प्रवृत्ति पाइएको छ । यसको निदानका लागि पर्याप्त रोजगारीको सिर्जना र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न जरुरी छ । यसो नगरेसम्म अहिले विदेश पलायन भइरहेका उच्च जनशक्ति स्वदेशमै रोक्न सम्भव छैन । अहिले नेपालमा शिक्षामा भइरहेको राजनीतीकरण नै गुणस्तरीय शिक्षामा बाधक बनेको शिक्षाविद्को भनाइ रहेको छ । त्यसैले शिक्षामा राजनीति बन्द गरेर शुद्ध शिक्षा दिने वातावरण बनाएर प्रविधिमैत्री र सिपमूलक शिक्षा दिने प्रणालीको विकास गर्न आवश्यक छ । यसो गरेमा शिक्षित जनशक्ति आत्मनिर्भर भएर नेपालमै काम गर्न सक्छन् । यस्तो अवस्थामा जागिरमा मात्र निर्भर हुनु पर्दैन । सिपमूलक क्षमतावान् जनशक्ति आफैँ आत्मनिर्भर भएर मासिक लाखौँ कमाउन सक्ने सम्भावना हुन्छ, यसो भएमा युवा पहिले झैँ विदेश जान रोकिन्छन् । यति मात्र नभएर रोजगारी र स्तरीय सुविधा पाएमा विदेशी जनशक्तिसमेत नेपाल आएर काम गर्ने अवस्थासमेत सिर्जना हुने छ । 

अहिले नेपालका उच्चस्तरीय जनशक्तिलाई युरोपका धेरै मुलुकले फाइदा लिएर देश विकास गरिरहेका छन् । नेपालले पनि यसरी नै देश विकास गर्ने सोचका साथ शिक्षा दिने प्रणालीको व्यवस्था गर्न सकेमा नेपालले छोटै समयमा नसोचेको प्रगति र विकास गर्ने छ । 

भ्रष्टाचार नियन्त्रण 

नेपालमा भ्रष्टाचार बढेको आमगुनासो रहेको छ । भ्रष्टाचार नियन्त्रण नगरेसम्म मुलुकले अपेक्षाकृत विकास गर्न सम्भव हुँदैन । अहिले नेपालमा यही भएकाले अपेक्षित विकास हुन सकेको छैन । बजेटको न्यून रकम मात्र विकासमा खर्च भइरहेकाले समयमा काम पनि हुँदैन र भएको काम पनि गुणस्तरीय नभई टालटुले हुने गरेकाले नेपालको यो दुर्गति भएको व्यापक जनगुनासो रहेको पाइएको छ । त्यसैले नेपाल बनाउने हो भने हरेक नेपाली आफ्नो ठाउँमा इमानदार हुन जरुरी छ । अनि मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ र नेपालले विकासमा चाँडै फड्को मार्न सम्भव हुन्छ ।    नेपालको साख जोगाउन पनि मुस्किल पर्ने भएको छ । यो नरोकेसम्म नेपालको वर्तमान जल्दोबल्दो समस्या समाधानको बाटो पनि देखिँदैन । त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक जिम्मेवारीमा रहनुभएका नेतृत्ववर्ग, राष्ट्रसेवक र सरकारी र निजी क्षेत्रमा काम गरिरहनुभएका सबैले हरपल इमानदार भएर काम गर्न जरुरी भइसकेको छ । सरकारले भ्रष्टाचारविरुद्ध कदम उठाएको पनि छ । त्यसलाई सबैले सहयोग र समर्थन गर्न पनि जरुरी छ । 

सर्वोपरि जनविश्वास 

राज्य सञ्चालनका लागि आवश्यक सबै तìव भएर पनि जनविश्वास भएन भने सरकार चल्न सक्दैन भन्ने भनाइ राजनीति शास्त्रको छ । जुन हालै एसिया र संसारभरिमा भएका घटनाले समेतले पुष्टि गरिरहेको छ । नेपालको सन्दर्भमा पनि यो विषय गम्भीर छ । यसबारे सचेतताका साथ नेपाली जनताको हरहालतमा विश्वास लिने गरी सरकारले काम गर्न आवश्यक पर्छ । यो ज्यादै महत्वपूर्ण विषय भएकाले नेपाल सरकारका हरेक निकायमा रहेर काम गरिरहनुभएका सबैले नेपाली जनतालाई शिरमा राखेर आफ्नो दायित्व निर्वाह गरे मात्र आफूसमेत नेपाल र नेपालीको हित हुने छ ।