• ७ वैशाख २०८२, आइतबार

मतदाता नामावली दर्ता सुरु

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २ गते । जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मतदाता नामावली दर्ता कार्य सुरु गरेको छ । वडाको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि रोकिएका नामावली सङ्कलन कार्य पुनः सुचारु भएको हो । 

निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य फेरि नियमित सुरू गर्ने निर्णय गरेसँगै जिल्लामा पनि मङ्सिरको अन्तिम सातादेखि मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिनुभयो । 

पेशा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै पालिका वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको बस्नेतको भनाइ छ । मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकता आवश्यक पर्दछ । 

यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतदाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने कार्यालयले जनाएको छ । गत मङ्सिर १६ गते मोलुङ गाउँपालिका वडा नं.५ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो ।