• ८ पुस २०८१, सोमबार

महिला हिंसाविरुद्ध ऐक्यबद्धता

blog

नोभेम्बर २५ देखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डिसेम्बर १० मा सकिएको छ । यो अभियान चल्न थालेको ३३ वर्ष भइसकेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम नेपालमा पनि २०५४ सालदेखि यो अभियान सञ्चालनमा आएको हो । यस वर्ष चलिरहेको अभियानको नारा ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ थियो । अभियान सञ्चालनका लागि जे जस्ता नारा राखिए पनि यही अवधिमा हिंसाका घटना भने भइरहे, अहिले पनि भइरहेका छन् । 

अभियान चलिरहँदा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक पृथ्वीराज भट्टले शिक्षण पेसामा लागेकी आफ्नै श्रीमती जयन्ती भट्टमाथि कुटपिट घाइते बनाएको घटना बाहिर आयो । शिक्षा दिने गुरुले श्रीमतीमाथि पशुवत् व्यवहार देखाएका छन् । यद्यपि उहाँले सामान्य विवाद मात्रै भएको तर कुटपिट नगरेको बताउनुभएको छ । सत्यतथ्य बाहिर आउला नै तर माइती पक्षले भने कुटपिट नै गरेको दाबी गरेका छन् । यस्तै अमेरिका बस्दै आएका सुदूरपश्चिमकै नरेश भट्टले गत जुलाईको अन्त्यतिर निर्ममतापूर्वक आफ्नै श्रीमतीको हत्या गरेर शव लुकाएको आरोप छ । यो मुद्दा त्यहाँको अदालतमा विचाराधीन छ । अमेरिकामा सानी छोरीलाई एक्लै बनाएर आमाको हत्याको समाचारले देश नै स्तब्ध बनेको थियो । केही दिनअघि तीन सन्तानकी आमा ३८ वर्षीय एक महिलाले काठमाडौँस्थित घरमा पासो लगाएर आत्महत्या गरिन् । अर्की महिलाले यही मङ्सिर ३० गतेका दिन किराँत समुदायले उँधौली पर्व मनाइरहँदा बागमती खोलाको छेउमा आत्मदाह गरिन् । छोराहरू र श्रीमान्लाई खुसीसाथ रहनू भनेर सुसाइड नोट लेखेको भेटियो । 

महिला डिप्रेसनमा जाने कारण पनि उनीहरूमाथि हुने घरायसी हिंसाका विभिन्न रूप नै हुन् । हत्या वा आत्महत्या गर्दा एक जनाको मात्रै ज्यान जाँदैन । परिवारमा जीवित साना छोराछोरी, वृद्ध आमाबुवा, आफन्तलगायत कैयौँलाई यसले नराम्ररी असर गरेको हुन्छ । आमाबुवाभन्दा टाढा बस्न बाध्य वा आमाबुवाको माया नपाएका बालबालिका अन्यायमा परिरहेका हुन्छन् । उनीहरूले आमाबुवाबाट उमेर अनुसार पाउनुपर्ने सल्लाह, सुझाव, मायाप्रेम, शिक्षा आदि पाउन सकेका हुँदैनन् । जसका कारण उनीहरूले गर्नुपर्ने प्रगति, हुनुपर्ने मान्छे बन्न सकेका हुँदैनन् । घरपरिवारमा हुने यस्ता घटनाले कतिपय बालबालिका कुलतमा फसेर आफैँ हिंसामा संलग्न हुने सम्भावना बढ्दै जान्छ ।

दम्पतीबिच राम्रो सम्बन्ध बन्न नसक्दा यसको नराम्रो असर बालबालिकामा परिरहेको छ । यसबाट महिलासमेत हिंसामा पर्ने गरेका छन् । १६ दिने अभियान चलिरहँदा सौतेनी बुवाबाट पीडित भएका तीन बालबालिकाको राजधानीमै काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो । उद्धार गरिएकी ११ वर्षीय बालिका सौतेनी बुवाबाट जबरजस्ती करणीमा परेको आरोप छ । महिला हिंसामा पर्दा त्यसको प्रत्यक्ष असर तिनका सन्तानमाथि समेत पर्ने गरेको छ । कतै अन्धविश्वास त कतै असमझदारी, सामान्य घरायसी विवादकै कारणले समेत महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा हुने गरेका छन् ।

युएन महिला तथा युएनओडिसीले सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार विश्वमा प्रत्येक १० मिनेटमा एक बालिका वा एक महिलाको आफ्नो जीवनसाथी, परिवार, नजिकका आफन्त वा चिनेजानेकैबाट हत्या हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको एक तथ्याङ्क अनुसार विश्वमा झन्डै पाँच जनामा एक जना महिला आफ्नो जीवनभर कुनै न कुनै प्रकारको शारीरिक वा मानसिक हिंसामा परेका हुन्छन् । आफ्नै जीवनसाथीलगायत कार्यालय, घर, स्कुल, पार्टी, सार्वजनिक सवारीसाधन, मेलापात, विवाह, व्रतबन्ध जुनसुकै ठाउँमा पनि हिंसाका घटना हुने गरेका छन् ।

महिला शिक्षित हुँदा सम्बन्धविच्छेदका घटनामा समेत झनै वृद्धि भएको देखिन्छ । २०५८ सालमा भएको जनगणनाको तथ्याङ्क अनुसार त्यतिबेला सम्बन्धविच्छेद गर्ने २३.१ प्रतिशत महिला साक्षर थिए भने २०६८ सालमा ४४.६ प्रतिशत तथा २०७८ सालमा बढेर सम्बन्धविच्छेद गर्ने महिलामध्ये ६८.९ प्रतिशत साक्षर थिए । सम्बन्धविच्छेद भएपछि पनि महिला सुरक्षित नै हुन्छन् भन्ने पनि हुँदैन । ठाउँ ठाउँमा यस्ता महिलाले समेत असुरक्षा तथा हिंसाका घटना भोग्नु परेको देखिन्छ । सम्बन्धविच्छेद भइसकेका आमाबुवाका सन्तान पनि सबै सुरक्षित हुन्छन् नै भन्ने पनि हुँदैन । आमाबुवाबाट टाढा रहेका यस्ता कतिपय सन्तानले हिंसाका घटना भोग्न बाध्य भएका पनि छन् । महिला साक्षर हुँदा आफ्नो आयआर्जन आफैँ गर्न सक्ने, अरूमाथि निर्भर हुन नपर्ने हुँदा महिला हिंसा कम हुने गरे पनि यस्ता कतिपय महिलाले एक्लै बस्नुपर्दा हिंसाको सिकार हुने गरेको देखिन्छ । 

घरपरिवार, समाजमा बसेर एकले अर्काको पीरमर्का बुझ्ने, राम्रो/नराम्रो छुट्याउने, मानिस चेतनशील नागरिक बन्न सक्नु पर्छ । सामाजिक सञ्जाल राम्ररी प्रयोग गर्न नजान्दा पनि महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेका छन् । सामाजिक सञ्जालकै कारण चिनजान हुने, भेटघाट भई धनसम्पत्ति, शरीरसम्म साटासाट गरेर अन्त्यमा महिला फस्ने गरेका घटना वृद्धि हुँदै आएको छ । सामाजिक सञ्जाल प्रयोग गर्दा पनि आफ्ना व्यक्तिगत विवरण गोप्य राख्दै सचेत भएर चलाउनुपर्ने बेला आएको छ ।

कतै रूढिवादी प्रथाकै कारण महिला हिंसामा परेका छन्, जसको असर बालबालिकामा पर्ने गरेको छ । महिला तथा बालबालिकालाई हिंसाबाट जोगाउन सबै लाग्नु पर्छ । सर्वप्रथम महिला आफैँ सचेत हुनु पर्छ । त्यसपछि सम्भावित घटना हुन सक्ने ठाउँमा चनाखो हुनु पर्छ । सबै मानिस चेतनशील निःस्वार्थ हुनु जरुरी छ । यसका लागि विभिन्न तालिम, महिला सशक्तीकरणलगायतका चेतनामूलक कार्यक्रम भइरहनु पर्छ । महिला र पुरुष हातेमालो गर्दै घरैदेखि हुने हिंसाका घटनामा कमी ल्याउन अघि बढ्नु पर्छ । कानुन पनि कडा हुनु पर्छ । पीडितले न्याय तथा पीडकले सजाय पाउनु पर्छ तर सबै ठाउँमा पीडित महिला नै हुन्छन् र पीडक पुरुष नै हुन्छन् भन्ने चाहिँ हुँदैन । कतिपय ठाउँमा महिलाले पनि आफ्नो स्वार्थपूर्तिका लागि जानी जानी पुरुषलाई फसाउने गरेका छन् । ‘हनी ट्र्याप’ मा पारेर पुरुषलाई फसाउने गरेका उदाहरण यथेष्ट छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका दिवसहरू मनाइरहनु पर्छ । यसले चेतनामूलक सन्देश बर्सेनि थोरै थोरै गरी धेरै मानिससम्म पुग्न सहयोग पु¥याउँछ । कम्तीमा पनि यस्ता दिवस या दिनमा थोरै सङ्ख्यामा भए पनि मानिस सचेत तथा जागरुक हुन्छन् । अन्याय तथा हिंसामा पर्नेलाई समेत आवाज उठाउन सजिलो हुन्छ ।

Author

मञ्जु भट्ट