गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘बमबहादुर’ बारे कलाकारले आफ्नो अनुभव साटासाट गरेका छन् । सो क्रममा चलचित्रका मुख्य पात्र सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
‘बमबहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह अवरोहलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । लेखक तथा निर्देशक जोन राईले चलचित्र निर्माण गर्नुको उद्देश्य आफ्नो इतिहास नबिर्सौं भन्ने रहेको बताउनुभयो । राईले भन्नुभयो,“चलचित्र बनाउनुको उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् भन्ने हो । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।”
अभिनेता मल्लले स्क्रिप्ट पढ्दा आफ्नै कथा जस्तो महसुस भएको बताउनुभयो । उहाँले कथा पढ्दै जाँदा निकै भावुक भएको बताउँदै चलचित्रमा मुख्य भूमिका गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुरुमा यो कथा कसरी बुझ्न सकिन्छ होला भन्ने थियो । त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँ मेरा एकदमै प्रिय भएका छन् । यो चलचित्र राम्रो बनेकाले हामी सबैको मन जित्ने विश्वास छ । मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन ।” चलचित्रकी मुख्य अभिनेत्री अनिशा रसाइलीले चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताउनुभयो । कलाकार शान्तिला तामाङले चलचित्रबाट आफूले ठुलो आशा बोकेको बताउनुभयो । दार्जिलिङ निवासी उहाँले भन्नुभयो, “नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ । चलचित्रमा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ ।”