• ९ वैशाख २०८२, मङ्गलबार

पान्तडीमा अझै बनेन पक्की पुल

blog

ठेक्का लागेको चार वर्षसम्म पनि पक्की पुल निर्माण हुन नसकेको पान्तडीस्थित तिला नदी । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, पुस १ गते । कालीकोट जिल्लाको महावै गाउँपालिका अन्तर्गत पान्तडीमा तिला नदीमाथि पुल बन्न ठेक्का लागेको चार वर्षसम्म पनि पुल निर्माणको सुरुवातसमेत हुन सकेको छैन । 

आर्थिक वर्ष २०७७/७८ मा ठेक्का भएर २०७७ चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन नसकेको हो । समयमा काम गर्न नसक्ने निर्माण कम्पनीले बहाना बनाउँदै अझै काम सुरु नगर्ने आशय देखाएको पाइएको छ । 

आफैँ अत्तो थापेर पत्र लेख्दै आयोजना कार्यालयलाई छल्दै आएको निर्माण कम्पनीको बदमासी यस पटक भने उदाङ्गिएको छ । महादेव खिम्ती निर्माण सेवा प्रालिका अध्यक्ष तथा सञ्चालक रवि सिंहले मङ्सिर २७ गते सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुल सेक्टर नम्बर ५ सुर्खेतलाई पत्र लेख्दै घरधनीले निर्माणमा अवरोध गरेको बताएको छ । यता घरधनी चित्रसिंह गाउँलेले मङ्सिर २८ गते नै पुल बनाउनका लागि आफ्नो तर्फबाट कुनै अवरोध नभएको भन्दै उक्त कार्यालयलाई निवेदन दिनुभएको छ । 

अझै पनि पुल निर्माणका लागि चासो नदिएको निर्माण कम्पनीले काम नगर्ने मनसायले आफैँ बनावटी कुरा गरिरहेको गाउँलेको भनाइ छ । “म आफैँ समयमा पुल बनोस् भनेर आवाज उठाउने व्यक्तिले निर्माणमा अवरोध गर्ने कुरै भएन । यहाँ मेरो मात्र घर भएकाले र मेरो परिवारको कुनै अवरोध नभएकाले यसरी कार्यालयलाई निर्माण कम्पनीले भ्रममा नपार्न अनुरोधसमेत गर्दछु,” घरधनीको निवेदनमा उल्लेख छ । 

निर्माण कम्पनीको पत्रलगत्तै महावै गाउँपालिकाले पनि पुल निर्माणमा कुनै अवरोध नभएको जानकारी पुल सेक्टर नम्बर ५ लाई पत्रमार्फत अवगत गराएको बताएको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले निर्माण कम्पनीले काम नै सुरु नगरेको र कसैले अवरोधसमेत नगरेकाले घरधनीले अवरोध गरेको भनेर कार्यालयलाई पत्र लेख्नु निर्माण कम्पनीको बदमासी भएको बताउनुभयो । पत्रमा सिंहले गाउँपालिका उपाध्यक्षको नेतृत्वमा निर्माण गर्ने भनिएको स्थानमा रहेको टहरा भत्काउने सहमति भइसकेको कुरालाई बहाना बनाउनु राम्रो नभएको पत्रमार्फत जानकारी गराउनुभएको छ । 

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नम्बर ५ सुर्खेतले निर्माण कम्पनीलाई पत्र लेख्दै पुल निर्माण कार्य हुने स्थानमा कुनै पनि घरटहरा नभएको र कर्णाली राजमार्गको बिर्तामोडमा मात्र घरटहरा रहेको हुँदा पुल निर्माणमा कुनै असर नपार्ने भएकाले यस्तो बहाना नबनाउन भनेको छ । कार्यालयले यथाशीघ्र पुल निर्माण गर्न निर्देशनसमेत दिएको छ । 

कार्यालयले पत्राचार गरेको भए पनि निर्माण कम्पनीले कुनै पनि जानकारी नपठाएको र हालसम्म पुल निर्माण स्थलमा निर्माण सामग्री तथा प्राविधिक नपठाएको आयोजनाको कार्यालयले लेखेको पत्रमा उल्लेख छ । आयोजना कार्यालयले दुई दिनभित्र संशोधित कार्ययोजना पेस गर्ने गरी निर्माण कार्य सुरु गर्न निर्देशन दिँदै अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ र निमावली २०६४ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ । पक्की पुल निर्माण गरिसक्ने समय सकिएको पनि १४ महिना बितिसकेको छ । उक्त पुलको ठेक्का पुल महाशाखा, काठमाडौँले लगाएको हो । २०७७ चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौँले आठ करोड ३९ लाख रुपियाँको लागतमा पुल निर्माण सम्झौता गरेको थियो । उक्त सम्झौतापत्रमा २०८० असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख छ । 

पुल सेक्टर सुर्खेतका इन्जिनियर शुभम वैश्यले गत वर्षको चैत २ गते गोरखापत्रलाई प्रतिक्रिया दिँदै पुल निर्माणका लागि निर्माण कम्पनी आफैँले डिजाइन गर्नुपर्ने उल्लेख छ । सम्झौता भएको तीन महिनामा डिजाइन प्रतिवेदन पुल महाशाखालाई दिनुपर्ने र प्रतिवेदन दिएको तीन महिनामा महाशाखाले स्वीकृत गरेर काम सुरु गर्ने भनिए पनि निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको हो ।