काँक्रेविहार (सुर्खेत), मङ्सिर ३० गते । चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो । २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख एवं इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो ।
उहाँका अनुसार २०७८ साउन २९ गते भएको सम्झौता अनुसार बारेकोट गाउँपालिका–८, सागुतरा र नलगाड नगरपालिका–५, सिर्के जोड्ने पक्की पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२, बाँकेलाई अन्तिम पत्र लेखेर स्पटीकरण सोधिएको छ ।
छेडा–कचाली–जुम्ला खण्ड अन्तर्गत छेडागाड नगरपालिकाको साल्मखोलामा पक्की पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२, बाँकेलाई पत्र काटिएको इन्जिनियर जैसीले जानकारी दिनुभयो ।
त्यस्तै २०७८ असोज १८ मा लागेको कालीमाटी–खाल्चौर–नेटिलेक खण्डको सक्ला खारी बयाले लिम्सा सडकको काम अमर–सिस्ने जेभी, नेपालगन्ज–२, बाँकेलाई अन्तिम पटक काटी स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण पत्रमा लेखिएको छ, “सम्झौता अनुसार निर्माण सम्पन्न नगरी सम्पर्कविहीन रहेको र लामो समयदेखि निर्माण स्थलमा कुनै पनि कार्य गरिरहेको नपाइएको सन्दर्भमा कार्यालयद्वारा विभिन्न मितिमा तोकिएको सम्झौता अवधिभित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा सम्पर्कमा आएका छैनन् । विभिन्न मितिमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा निर्माण अवस्थासम्बन्धी छलफल गर्न कम्पनीको मुख्य व्यक्तिलाई बोलाइएकोमा उक्त बैठकमा सहभागी नभई अटेर गरेको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”