• ११ पुस २०८१, बिहिबार

एमालेलाई बलियो शक्ति बनाउनुको विकल्प छैन : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल कार्यशाला गोष्ठीमा सम्बोधन गर्नुहुँदै ।

काठमाडौं, मंसिर २९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय संगठन विभागको आयोजनामा शनिबारदेखि सुरु भएकोराष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।   

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित  ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा उहाँले पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीहरूको ध्यानाकर्षण गर्नुभयो ।  

कार्यशालामा आज पहिलो दिन प्रमुख वक्ताका रूपमा महासचिव पोखरेलले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभयो । महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो । उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।   

स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो, “पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?” उहाँले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताउनुभयो । 

उहाँले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्नेखालका हुनुपर्ने बताउनुभयो । 

मानिसलाई वैचारिक तथा राजनीतिक प्रशिक्षण दिइएन भने अवसरवादी र अराजक हुने बताउँदै पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने काममा तल्ला कमिटीहरूको ध्यानाकर्षण गर्नुभयो । पार्टी सदस्यहरूलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने बताउँदै माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीहरूले सञ्चालन गर्नुपर्ने बताउनुभयो । 


महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्ति खरोरूपमा उत्रनुपर्ने तर प्रतिरक्षा कमजोर भइरहेको भन्नुहुँदै यसलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराउनुभयो ।  

उहाँले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व  आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । 

यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयवस्तुको रूपमा “स्थानीय तहमा पार्टी कामका समस्या र समाधान” विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गर्नुभयो । 

कार्यशालामा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले एमालेलाई देशको निर्विकल्प शक्ति बनाउने हो भने जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन यो कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

कार्यशालामा पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिव लेखराज भट्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, डा. राजन भट्टराई, शेरधन राई, राजेन्द्र गौतम, गोरखबहादुर बोगटी, लीलानाथ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । गोष्ठीमा प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहेको छ ।