• १६ वैशाख २०८२, मङ्गलबार

ट्युबमार्फत महाकाली तर्नुपर्ने बाध्यता

blog

महाकाली तर्न बनाएको ट्युब । तस्बिर सौजन्य : भरत धानुक

बैतडी, मङ्सिर २८ गते । महाकाली नदीमा मोटरेबल पुल निर्माण गरेर नेपाल–भारत आवागमन व्यवस्थित गर्ने विषयमा दुई देशबिच पटक पटक सहमति भए पनि पुल नबन्दा दुई देशका नागरिक ट्युबमा हावा भरेर नदी तर्दै आइरहेका छन् । महाकाली नदीले बैतडीमा मात्रै भारतसँग ६५ किलोमिटर क्षेत्र ओगट्छ । आवागमनका लागि इस्ट इन्डिया कम्पनीले झुलाघाटमा निर्माण गरेको दुई सय वर्षभन्दा पुरानो एक मात्रै जीर्ण झोलुङ्गे पुल रहेको छ । 

जिल्लाको तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमानाकामा एउटा पनि पुल छैन । यहाँ पुल नहुँदा दर्जनाँै स्थानमा काठका डुङ्गा र ट्युबबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पञ्चेश्वर गाउँपालिका–४, गणमेश्वर मन्दिरनजिकै रहेको देवतालको दर्शन गर्न हजारौँ भारतीय तीर्थयात्री ट्युब र डुङ्गामा जोखिम मोलेरै नेपाल आउने गरेका छन् ।  

महाकाली नदी तर्न पञ्चेश्वर गाउँपालिकामा मात्रै छ वटा र शिवनाथ गाउँपालिकामा दुई वटा गरी आठ स्थानमा तारउतार घाट रहेका छन् । पञ्चेश्वर गाउँपालिका–१ मा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने दुई देशबिच सहमति भए पनि काम अघि नबढेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।  नेपालतर्फको तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका ७० हजार जनसङ्ख्यामध्ये अधिकांश मानिस मौसमी रोजगारी, स्वास्थ्य उपचार र उच्च शिक्षाका लागि अहिले पनि भारत जाने गरेका छन् ।  

बैतडीको झुलाघाट र डडेलधुराको शीर्षमा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि नेपाल र भारतका प्रधानमन्त्रीस्तरमै सहमति भए पनि मोटरेबल पुलको काम पनि अधि बढ्न सकेको छैन । भारतसँग सीमा जोडिएको डडेलधुराको पर्शुराम नगरपालिका–६, सिसमजालास्थित महाकाली नदीमा ट्युबकै सहारामा नेपाल–भारत आवतजावत हुने गरेको छ । 

नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेक्का आह्वान गर्दै आएकोमा काठको डुङ्गा मर्मत नहुँदा जनप्रतिनिधिको कमजोरीले ट्युब सञ्चालन भइरहेको लामो समयदेखि डडेलधुरामा राजनीति गर्दै आएका नेकपा (माओवादी केन्द्र) का नेता भरत धानुकले (पुकार) आरोप लगाउनुभयो । 

उहाँले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको सीमासम्म बग्ने महाकाली नदीको २२३ किलोमिटर क्षेत्रको सीमानाका व्यवस्थित नहुँदा राजस्व छली, तस्करी, मानव बेचबिखन जस्ता अपराध नियन्त्रण गर्नु दुई देशको साझा दायित्व भएको बताउनुभयो ।  

ट्युब र डुङ्गाको सहारामा महाकाली नदी तर्ने परम्परागत शैलीले भन्सार छली, मानव बेचबिखन र चोरी तस्करी जस्ता घटनासमेत बढ्न थालेका छन् । नेपालतर्फबाट महाकाली नदी किनारसम्म सडक पुगेपछि स्थानीय तहले बालुवा सङ्कलनका लागि ठेक्का आह्वान गरे पनि सीमानाका व्यवस्थित गर्ने विषयमा चासो देखाएका छैनन् । 

पछिल्लो समय नेपाल र भारत दुवै देशबाट महाकाली नदी किनारसम्म सवारीसाधन पुगेपछि भन्सार छलीका अवैध सामान भित्रिने र बाहिरिने क्रम बढेको छ । पुल निर्माण गरी सीमानाका व्यवस्थित नहुँदा नेपालबाट भारततर्फ खुकुरी चुरोट, भारतबाट नेपालतर्फ घोडा बिँडी, चिनी, मिस्री जस्ता सामानमा भन्सार छली हुने गरेको पाइएको छ । 

बैतडी प्रहरीले गत कात्तिक अन्तिम साता महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट भन्सार छली गरेर ल्याएको एक लाख १० हजार रुपियाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । त्यसै गरेर प्रहरीले एक  लाख ६० हजार मूल्य बराबरको १६ क्विन्टल चिनीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि झुलाघाटस्थित महाकाली भन्सार कार्यालयमा बुझाएको छ । 

बालबालिका जोखिममा  

खुला सीमा र महाकाली नदीमा जताततै प्रयोग भइरहेका ट्युबका कारण नेपाली बालबालिका जोखिममा पर्ने गरेका छन् । बालविवाह गरेर भारत भागेका र ज्याला मजदुरी गर्न गएका बालबालिकामाथि श्रम शोषण, यौन दुराचार र बेचबिखनसमेत हुने गरेको बालबालिकाको हितमा काम गर्दै आइरहेको भारतीय कार्ड संस्थाका सुरेन्द्र आर्यले बताउनुभयो । 

मङ्सिरको दोस्रो साता मेलौली नगरपालिका–६, बैतडीकी १६ वर्षीय युवती र भागेश्वर गाउँपालिका–३, डडेलधुराका १४ वर्षीय युवा महाकाली नदीमा ट्युब चलाउने मानिसको सहारामा भागेर भारतको एक होटेलमा पुगेर बन्दक बनेको अभिभावकले बताएका छन् । उद्धारका लागि अभिभावक बिहीबार भारतीय प्रहरीको सहयोगमा भारतको लोहाघाट पुगेको मेलौलीका गोपालदत्त भट्टले बताउनुभयो । 

बालबालिका चम्पावत जिल्लाको लोहाघाटस्थित एक होटेल सञ्चालकले कतै जान नदिएको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरेर अनुसन्धान भइरहेको भारतीय प्रहरीका एसी अजय गणपतिले बताउनुभयो । उहाँले ट्युबको सहारा लिएर अवैध तरिकाले बालबालिका कसरी सहजै भारत पुग्छन् भन्ने यो एक उदाहरण मात्रै भएको बताउनुभयो ।