• ११ पुस २०८१, बिहिबार

समाचारको प्रभाव

छात्रावास भवनको शिलान्यास

blog

विद्यालय भवनको शिलान्यास कार्यक्रम । तस्बिर सौजन्य : तुला रावत

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर २८ गते । बाजुरामा दुई वर्षअघि गएको भूकम्पले यहाँका अधिकांश घरछाना र विद्यालयलगायतका धेरै भौतिक संरचनामा क्षति पुगेको थियो । यहाँका स्थानीयले बस्नका लागि निर्माण गरेका अधिकांश घरछाना तथा शैक्षिक संस्थासमेत भत्किए । केही घरछाना र विद्यालय चिरा चिरा पनि भए ।

बासका लागि बनाएका ती घरछाना भूकम्पले भत्काएपछि उनीहरू खुला आकाशमुनि त्रिपालको बास बस्न बाध्य भएका थिए । त्यसै पीडामा फेरि २०७९ माघ ११ गते परेको हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको थियो ।  

यहाँका अधिकांश शैक्षिक संस्थालाई बालबालिकालाई बाहिर बसालौँ भूकम्पको डर, भित्र बसालेर पढाऊँ हिउँको चिसोको डर भएको थियो । दुई वर्षअघि गोरखापत्र र दी राइजिङ नेपालमा भूकम्पको डरले हिउँमाथि पठनपाठन भनेर समाचार प्रकाशित भएको थियो ।

त्यही समाचारको प्रभावले अहिले स्विट्जरल्यान्डको नेफा नामक संस्थाले यहाँका बालबालिकालाई विद्यालयमै बसेर पठनपाठन गर्न सहज हुने गरी तीन करोड रुपियाँको लागतमा एक कोठामा चार जना मात्र बस्ने गरी १६ कोठे छात्रावास भवन बनाइदिने भएको छ । 

सो संस्थाका संस्थापक हानारोबरका अनुसार २०७९ माघ १२ गते गोरखापत्र र १३ गते दी राइजिङ नेपालमा यहाँका बालबालिका हिउँमाथि बसेर पढाउँदै गरेको समाचार हेरपछि मनकारी यो संस्थाले यहाँ १६ कोठे छात्रावास निर्माण गर्न लागेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयले जनाएको छ ।

नेफा संस्थाको झन्डै तीन करोड रुपियाँको आर्थिक तथा बुढीनन्दा नगरपालिकाको प्राविधिक सहयोगमा हालै सुविधासम्पन्न १६ कोठे छात्रावास भवन निर्माण गर्ने गरेर छात्रावासको शिलान्यास भएको हो । सो भवन निर्माणको काम २०८३ मङ्सिर २१ गते पूरा हुने सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयका प्रधानाध्यापक तुला रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई वर्षअघि आएको भूकम्पका कारण यस विद्यालयका सबै भवन चिरा चिरा परेपछि यहाँका बालबालिकालाई बाहिर बसालेर पढाउने गरेका थियौँ । हिउँदमा बाहिर बसाउँदा चिसोले समात्ने डर रहँदै आएको छ । किनकी फेरि भूकम्प आउँछ कि भन्ने डर थियो र भनेर हिउँमाथि टेबल राखेर बालबालिकालाई बाहिर बसालेर पढाउने गरेका थियौँ ।” 

यही दृश्यलाई लिएर गोरखापत्रले लेखेका आधारमा सहयोग पाएको उहाँले बताउनुभयो । समाचारका आधारमा उहाँले यहाँ आएर यो विद्यालयको सबै अवस्था हेर्नुभयो उहाँले भन्नुभयो, “यहाँ हाम्रो संस्थाले यी बालबालिकालाई विद्यालयमै बसेर पढाइ गर्न सहज हुने गरी छात्रावास बनाइदिन्छ भनेर जानुभयो । त्यसै अनुसार अहिले छात्रावास भवनको शिलान्यास भएको उहाँले बताउनुभयो । 

यो विद्यालय बाजुराको निकै विकट क्षेत्रमा रहेको छ । यहाँ प्रायः भोटे समुदायका बालबालिका मात्र पढ्ने गर्छन् । त्यसैमा यो विद्यालयमा अनाथ, टुहुरा, जनजाति बालबालिकाले समेत पठनपाठन गरिरहेका छन् । यस विद्यालयमा अहिले ६६ जना बालबालिका अध्ययनरत छन् । जसमा १० जना टुहुरा अनाथ, एक जना जनजाति, १५ जना द्वन्दपीडित तथा दलित र ४० जना भोट समुदायका गरेर ६६ जना बालबालिका अध्ययनरत छन् ।

बुढीनन्दा नगरपालिका–९ को डाप्कमा प्रायः भोटे समुदायको बसोबास रहेको छ । सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयमा पनि प्रायः उनीहरूकै बालबालिका पढ्ने गरेका छन् । भोटे समुदायमा भेडापालन मुख्य पेसा भएकाले उनीहरू हिउँदमा औलतिर जाने र वर्खाका समय लेकमा जाने गर्छन । उनीहरू यसरी औल, लेक गर्ने गरेकाले उनीहरूका बालबालिका पढ्नबाट वञ्चित हुने गरेका थिए । 

भोटे समुदायका बालबालिका पढाइबाट वञ्चित हुन नदिन दुई वर्षदेखि उनीहरूलाई विद्यालयमै बसेर पढाउने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङले बताउनुभयो ।