बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर २८ गते । बाजुरामा केही समयपहिला एक वडाबाट अर्को वडामा पुग्न झन्डै दिनभर लाग्ने गथ्र्यो । एक पालिकादेखि अर्को पालिकासम्म जान त दुई/चार दिनसम्म पैदल हिडेर बल्ल पुगिन्थ्यो । अहिले त्यो अवस्था भने छैन, यद्यपि गाउँमा युवा नहुँदा गाउँबस्ती र सडक क्षेत्र सुनसान छ ।
अहिले यहाँका प्रत्येक पालिकामा सडक यातायातको सहजता भएसँगै एक दिनको बाटोमा एक घन्टा र दुई/चार दिनको बाटोमा दुई/चार घन्टामै पुग्न सकिने अवस्था छ ।
यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्ती अहिले सडक सञ्जालको पहुँचमा पुगेसँगै आवतजावत तथा स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ । हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तडछेडेदहलगायका स्थानीय तहमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत यातायात सेवामा समेत अहिले निकै परिवर्तन आएको छ । सडक सञ्जालको पहुँचबाट वञ्चित भएका गाउँबस्तीमा अहिले गाडी गुड्न थालेका छन् ।
तर पनि यहाँका अधिकांश युवा भने घर तथा गाउँबस्ती छाडेर धमाधम विदेश पलायन हुँदै आएका छन् । यहाँका गाउँबस्तीमा विकास पुगे पनि युवा भने रोजगारीका लागि दिनप्रतिदिन विदेश जाने क्रम निकै बढ्दै गएको छ । युवा विगतमा झैँ भारत पलायन भएसँगै यहाँका अधिकांश गाउँबस्तीसमेत खाली हुने गरेका छन् । यहाँका स्थानीयको घरमा ताला लगाइएको पाइन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडक सुविधा भए पनि युवाका लागि विदेश स्वर्ग र गाउँ नर्क जस्तै बनेको छ ।
गाउँमा केही गरेर खाने व्यवस्था नभएपछि पेट पाल्नकै लागि घर छाडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जानु परेको बुढीगङ्गा नगरपालिका–१० का स्थानीय रूप सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि त्यसमा सिँचाइ सुविधा नहुँदा जमिन सधैँ बाँझो रहेको छ ।”
भौतिक पूर्वाधार विकाससँगै स्थानीय सरकारले गाउँमै आर्थिक उपार्जन गर्ने सिपमूलक तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा यहाँका सबै युवा कामकै खोजीमा बाहिर जाने गरेको सार्कीले बताउनुभयो । आफूलाई बुवाले भारतकै नोकरी गरेर पढाउनु भएकाले छोराछोरी पढाउन र घरखर्च टार्न भारत बस्नु परेको यता खप्तडछेडेदह गाउँपालिका–२ का स्थानीय रामबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा रोजगारीका लागि केही काम नहुँदा म जस्तै यहाँका दर्जनौँ पढेलेखेका युवा अहिले रोजगारीकै लागि भारत जानु परेको छ ।”
गाउँमा पढेर पनि केही काम नपाएपछि अधिकांश युवा बाहिरिनु परेको छ । युवाका लागि अहिलेको स्थानीय सरकारले गाउँमै केही गरेर खाने वातावरण सिर्जना नगर्दा युवा बाहिरिनु परेको नेपालीले बताउनुभयो । दसैँतिहार तथा असारमा अन्नबाली लगाउने बेला भरिए पनि त्यसपछि भने यहाँका अधिकांश गाउँबस्ती युवाविहीन हुने गर्छन् ।
पछिल्लो सयम बाजुराका नौ वटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि सञ्चालनमा आएका छन् । यो कार्यक्रमले यहाँका अधिकांश बेरोजगारलाई गाउँमै रोजगारी दिने गरेको स्थानीय सरकारका स्वरोजगार संयोजकले बताउनुभयो ।
यहाँका १८ वर्षदेखि ५९ वर्षसम्मका झन्डै पाँच सय युवायुवतीले बर्सेनि गाउँमै रोजगारी पाउने गरेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मात्र सञ्चालन थियो । २०६७ सालदेखि गाउँमा भएका बेरोजगार युवालाई रोजगारी दिने गरी स्थानीय सरकारले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको छ ।” यी कार्यक्रमले यहाँका सबै बेरोजगारलाई गाउँमै रोजगारी दिन नसके पनि एक वर्षमा झन्डै पाँच सयभन्दा बढीले गाउँमै रोजगारी पाएको संयोजक जोशीले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दामा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामीकार्तिकमा दुई हजार २२३ र खप्तडछेडेदहमा तीन हजार १७४ घरपरिवार बसोबास गर्दै आएका छन् ।