गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, समीक्षकद्वय राजकुमार बानियाँ तथा अनिता कोइरालाले उपन्यासको समकालीन अवस्था र उपन्यासकार तिवारीको उपन्यासमाथि आआफ्ना धारणा राख्नुभएको थियो । प्रतिष्ठानका कुलपति भूपाल राईले उपन्यासको चर्चा गर्दै नेपाली समाजको सबैभन्दा ठुलो दुस्मन भ्रष्टाचार नै भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धका उपन्यास अझै धेरै लेखिनुपर्नेमा जोड दिनुभयो ।
सदस्यसचिव डा. सुवेदीले आलोचनात्मक यथार्थ विशेषतः भ्रष्टाचारसँग सम्बन्धित भएर पुस्तक लेखिएको बताउनुभयो । पछिल्लो समय उपन्यास धेरै लेखिए पनि कम पढिएको चर्चा गर्दै उहाँले लेखक यथार्थप्रति इमानदार हुनु पर्छ भन्नुयो । समीक्षक बानियाँले नेपाली साहित्य उपन्यासलाई ‘गोल्डेन गेट’ को संज्ञा दिँदै लेखकमा पढ्ने प्रवृत्ति कम भएको औँल्याउनुभयो । उहाँले उपन्यासको क्यानभास ठुलो भएकाले लेखकले यसमा धेरै स्वतन्त्रता पाउने र सबै उपन्यासतिर आकर्षित भएको हुन सक्ने बताउनुभयो ।
समीक्षक अनिता कोइरालाले उपन्यासले नेपालमा व्याप्त भ्रष्टाचारको नाङ्गो रूप देखाएको उल्लेख गर्नुभयो । उहाँले यो पढ्नैपर्ने उपन्यास भएको सुझाउनुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा पढ्नलायक कृति धेरै नहुनु चिन्ताको विषय भएको धारणा राख्नुभयो । उहाँले वर्तमान लेखनीको चर्चा गर्दै यस क्षेत्रमा पनि भ्रष्टाचार हुँदै आएको बताउनुभयो । कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, देविका तिमल्सिना, उपन्यासकार प्रकाश तिवारीलगायतले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।