गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २७ गते । चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने भएको छ । दुई सय चलचित्रकर्मीलाई बोर्डले परिचयपत्र वितरण गर्ने भएको हो । यो परिचयपत्रका लागि बोर्डले केही मापदण्ड तोकेको छ । मापदण्ड पूरा गर्ने चलचित्रकर्मीले मात्र चलचित्रकर्मी परिचयपत्र पाउने छन् ।
बिस वर्ष चलचित्र क्षेत्रमा सक्रिय रूपमा काम गरेका चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिने बोर्डका सदस्य राजु केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रमा लगातार काम गरेको हुनुपर्ने छ । बिचमा चलचित्र छाडेको हुनुभएन ।”
परिचयपत्र पाउने चलचित्रकर्मीका लागि अहिले खासै त्यस्तो सुविधा नभए पनि पछि यसमा विचार गरिने उहाँको भनाइ थियो । मापदण्ड पूरा भएका सबै चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिने उहाँले बताउनुभयो । यति उति भन्ने छैन । चलचित्र क्षेत्रमा काम गरेका मान्छे धेरै हुनुहुन्छ । त्यसैले पनि यतिलाई दिन लागिएको भन्ने छैन ।