• २७ मंसिर २०८१, बिहिबार

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

blog

काठमाडौँ, मङ्सिर २६ गते। नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आज आयोजित स्वागत कार्यक्रमा उहाँले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गर्नुभयो। 

“अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ”, उहाँले भन्नुभयो। उहाँले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरेरहेको जानकारी दिनुभयो। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चार वटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताउनुभयो। “पुँजीबजारको विकासका लागि यी सबै संस्थाबीच सहकार्य र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो, “धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उहाँको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ।”  पुँजीबजार क्षेत्रका यी तीन वटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा एतिहासिक काम गर्ने जिम्मेवारी आएको उहाँको भनाइ थियो। 

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गर्नुभयो। धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उहाँको भनाइ थियो। पुँजीबजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर सङ्घ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। 

शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो। “पुँजीबजारका लगानीकर्ताको मनोवल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ”, उहाँले भन्नुभयो, “यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ।” 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले विभिन्न सङ्घ संस्थाका नवनियुक्त तथा नवनिर्वाचित पदाधिकारिलाई बधाई दिँदै पुँजी बजारलाई चलायमान बनाउन र देखिएका समस्या समाधान गर्नका लागि शुभकामना दिनुभयो। रासस