• १० पुस २०८१, बुधबार

भेरी–बबई डाइभर्सनको काम सुस्त

blog

सुर्खेत चिप्लेस्थित भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको मुहान ।

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर २६ गते । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निर्माणमा ढिलाइ भएको छ । आर्थिक वर्ष २०७७/७८ मा नै सम्पन्न हुने भनेर चर्चामा रहेको यो आयोजनाको अहिलेसम्म जम्मा भौतिक प्रगति जम्मा ६६ प्रतिशत मात्रै छ । 

सुरुङ निर्माणको कार्य निकै छिटो सकिए पनि त्यसपछिका कार्य निर्माणमा ढिलाइ भएको हो । २०७६ वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको थियो । त्यो बेला परियोजना सम्झौता अवधिभन्दा एक वर्षअगाडि नै निर्माण सम्पन्न हुने दाबी गरिएको थियो । 

यदि यो परियोजनाले लक्ष्य अनुसार काम गर्न सकेको भए आजका मितिसम्म निर्माण सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसक्थ्यो भने ४८ मेगावाट विद्युत् उत्पादन भइसकेको हुन्थ्यो तर कहिले बजेट अभाव त कहिले प्राविधिक समस्याका कारण यो आयोजना सम्पन्न हुन अझै कति समय लाग्ने हो यकिन छैन ।

परियोजनाको सुरुमा १६ अर्ब ४३ करोड लागत रहे पनि पछि संशोधन गरेर यो आयोजनाको लागत ३३ अर्ब ८० करोड रहेको छ । आव २०६८/६९ बाट सुरु भएको परियोजना २०७७/७८ मा सम्पन्न हुने भनिएको थियो । कार्यतालिका अनुसार काम नभएपछि २०७९/८० सम्मका लागि म्याद थप भयो । यद्यपि उक्त वर्ष पनि नसकिएपछि अहिले म्याद थप भएर २०८४/८५ मा सम्पन्न गर्नुपर्ने भनिएको छ । 

उक्त मितिमा पनि परियोजना सम्पन्न हुनेमा आशङ्का छ । अहिले राज्यबाट पाउनुपर्ने आवश्यक सहयोगलगायत विविध कारण उक्त मितिमा पनि आयोजना सकिन समस्या हुने भेरी–बबई बहुउद्देश्यीय परियोजनाका सूचना अधिकारी इन्जिनियर पवन अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार पहिला डिजाइनकर्ता (परामर्शदाता) इरानी कम्पनीलाई काम गरे अनुसार पैसा दिन नसक्दा ठेक्का तोड्यो । 

उहाँले अगाडि थप्नुभयो, “पैसा हाम्रोबाट गए पनि उसले अझै लिन सकेको छैन । पैसा दिन नसक्दा एक वर्ष त्यसै अलमल भयो । उसले राम्रो काम गर्दागर्दै पनि ठेक्का तोड्नुपर्ने अवस्था भयो ।” रकम भुक्तानीका लागि अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयदेखि राष्ट्र बैङ्कसम्म गुहार्दा पनि सहयोग नपाएपछि उक्त कम्पनीले काम छाडेको उहाँले बताउनुभयो ।  

“काममा समस्यै समस्या छ,” इन्जिनियर अधिकारी भन्नुहुन्छ, “भेरी नदीमा ड्याम बनायो भत्काइदिन्छ, गत वर्ष लामो समय लगाएर बनाएको बाँध बाढी आएर सबै बगाइदियो । आठ अर्ब भुक्तानी गर्न बाँकी रहे पनि यो वर्ष जम्मा एक अर्ब ७७ करोड रकम मात्रै रहेको उहाँ बताउनुहुन्छ ।” 

अर्को वर्ष ठुलो मात्रामा बजेट आवश्यक पर्ने भए पनि सरकारबाट पाउन मुस्किल हुने उहाँको भनाइ छ । राज्यका तर्फबाट अनुगमन गर्ने, काम गर्नेहरूको मनोबल बढाउने जस्ता काम नभएकोले आयोजना समयमा निर्माण सम्पन्न नभएको उहाँको भनाइ छ । 

कर्णालीलाई उज्यालो र लुम्बिनीलाई सिँचाइ दिने कर्णाली प्रदेशभित्रको ठुलो आयोजना हो । सुरुमा आयोजनाले सिँचाइ र जलविद्युत् उत्पादनमा काम गर्ने भनिए पनि पछि खानेपानीलाई जोडिएको छ । भेरी नदीबाट ४० घनमिटर पानी बबई झार्ने र त्यसमध्येको १५ घनमिटर पानी प्रयोग गरिने बताइएको छ । भेरीमा सुक्खा समयमा ७६ घनमिटर र अरू बेला एक हजार पाँच सय घनमिटरसम्म पानी हुने गर्दछ । भेरीबाट झारिएको पानीले बबई र मानखोलाबाट समेत विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

बबई र मानखोलामा उपलब्ध झन्डै सय मिटर हेड उपयोग गरी १२ देखि १४ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको छ । त्यसमा करिब एक घनमिटर पानी कोहलपुर र नेपालगन्ज क्षेत्रमा खानेपानीका रूपमा प्रयोग हुने छ । आव २०७२/७३ बाट सुरु भएको आयोजनामा टनेल निर्माण कार्य शतप्रतिशत, सिभिल निर्माण कार्यमा ५५ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रसारण लाइनको पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।