देवरामप्रसाद यादव
सप्तरी, मङ्सिर २६ गते । सप्तरीको रानविराजस्थित कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्थानीयले तालाबन्दी गरेका छन् । मल वितरणमा ढिलासुस्ती, कालाबजारी गरेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले मङ्गलबार तालाबन्दी गरेका हुन् ।
ठुलो परिणाममा मल भण्डार गरी वितरण नगरेको विरुद्ध जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनमा तालाबन्दी गरेका छन् ।
जिल्लामा मलको हाहाकार हुँदा समेत ती कार्यालयमा पटकपटक पत्रचार गरी मल वितरण गर्न आग्रह गर्दा सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको उहाँहरुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँहरुले २४ घण्टाभित्र मलखाद वितरण नगरिए थप संघर्षका कार्यक्रम ल्याएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
कृषि सामग्री संस्थान कार्यालय प्रमुख सोनुलाल मुरमुका अनुसार गोदाममा चार हजार एक सय ८६ मेट्रिकटन युरिया, दुई हजार एक सय एक मेट्रिकटन डिएपी र एक सय ६ मेट्रिकटन पोटास मौज्दात रहेको बताउनुभयो ।