• १० पुस २०८१, बुधबार

एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन

blog

कप्तान रोहित पौडेल

काठमाडौं, मङ्सिर २६ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहनुभएको छ ।

उहाँले हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पार्नुभएको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मङ्गलबार भने चितवन राइनोजलाई पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । एनपिएलमा ४ खेलमै चारै खेल हारेर शून्य अङ्कसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौँ खेलमा सफलता हात पारेपछि अहिले अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

रोहितको अलराउण्डर प्रदर्शन

लुम्बिनीले पाँच खेलमा चार खेलमा हारे कप्तान पौडेलले भने हार्नुभएन । उहाँले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल हुनुभयो ।  एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किङ्गसको सामना गर्‍यो ।

विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो । उहाँले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाउनुभएको थियो । उहाँले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल हुनुभयो । यद्यपि, उहाँले विराटनगरविरुद्ध बलिङ भने गर्नुभएन ।

लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो । पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो । उहाँले पोखराविरुद्ध एक्लैले ९५ रन बनाउनुभयो । ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल हुनुभयो ।

उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्नुभएको थियो । यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाएपछि उहाँको रेकर्ड तोडिएको थियो ।

लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो । उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाएर आउट भए बलिङतर्फ एक विकेट हात पार्नुभएको थियो । रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२  रन मात्रै खर्चिनुभएको थियो ।

चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो । उहाँले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पार्नुभएको थियो ।

लुम्बिनीले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बन्नुभयो । उहाँले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाउनुभयो ।

चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाउनुभयो । ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल हुनुभएको हो ।

बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिनुभयो । चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिनुभया । यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित कल्पना गर्न सकिँदैन ।

एनपिएलमा सबैभन्दा धेरै रन रोहित नाममा

जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा हुनुहुन्छ, कप्तान रोहित । उहाँले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाउनुभएको छ । रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गर्नुभएको छ । साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा हुनुहुन्छ ।

धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा हुनुहुन्छ । उहाँले जारी एनपिएलमा एक सय ६९ रन बनाउनुभएको छ ।  एनपिएलमा एक सय ८९ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा हुनुहुन्छ ।

सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित

लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताउनुभएको छ । मङ्गलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताउनुभयो । उहाँले समय राम्रो चलिरहेको जिकिर गर्नुभयो ।

“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो, “समय राम्रो चलिरहेको छ । गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु ।”  रासस