• २३ माघ २०८१, बुधबार

बैङ्कहरूको नाफा ७.५६ प्रतिशतले वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । सञ्चालनमा रहेका वाणिज्य बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपियाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.५६ प्रतिशतले बढी हो । 

नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका अधिकांश बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा मुनाफा बढाएका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कले २० अर्ब ७३ करोड २२ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेका थिए ।

बैङ्कहरूको खुद मुनाफा अघिल्लो महिनाको तुलनामा पनि ३७.७४ प्रतिशतले बढी हो । चालु आवको असोज मसान्तसम्म बैङ्कले १६ अर्ब १८ करोड ९४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेका थिए । तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवको कात्तिकसम्ममा १३ वटा बैङ्कको मुनाफामा बढोत्तरी आएको छ भने बाँकी सात बैङ्कको मुनाफा घटेको छ ।

नबिलको अग्रता

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैङ्क आएको छ । नबिलले दुई अर्ब ६९ करोड १० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नबिलले दुई अर्ब १६ करोड ९६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैङ्कले दुई अर्ब ११ करोड ४० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ग्लोबल बैङ्कले एक अर्ब ९४ करोड ६९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्बमाथि नौ वटा बैङ्क

नबिल र ग्लोबल आइएमई बैङ्क दुई अर्बको लाइनमाथि लागेका छन् भने एक अर्बको लाइन माथि लाग्ने नौ वटा बैङ्क छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्राइम बैङ्क, कुमारी बैङ्क, एभरेस्ट बैङ्क, एनएमबी बैङ्क, प्रभु बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, लक्ष्मी बैङ्क र नेपाल एसबिआई बैङ्कले आफ्नो मुनाफा एक अर्बको लाइनमाथि लगेका छन् ।

सनराइज र सिद्धार्थको शतप्रतिशत

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैङ्कले सबैभन्दा धेरै १०७.२६ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक अर्ब छ करोड ९४ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कको मुनाफा पाँच करोड १५ लाख ९९ हजार रुपियाँ रहेको थियो । यस्तै सिद्धार्थ बैङ्कले शतप्रतिशतले मुनाफा बढाएको छ । बैङ्कले चालु आवको कात्तिक मसान्तसम्ममा छ करोड ६७ लाख ८० हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कको मुनाफा तीन करोड ३३ लाख ८६ हजार रुपियाँ रहेको थियो । यसै गरी कुमारी बैङ्कको ७९.०९ प्रतिशत र नेपाल एसबिआई बैङ्कको नाफा पनि ६६.३० प्रतिशतले बढोत्तरी आएको छ ।

एनआइसी एसियाको नाफा सर्वाधिक घट्यो

चालु आवको कात्तिक मसान्तसम्ममा एनआइसी एसिया बैङ्कको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ । यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको ५४.१९ प्रतिशत, हिमालयन बैङ्कको ३९.०१ प्रतिशत, सिटिजन्स बैङ्कको २४.६९ प्रतिशत, कृषि विकास बैङ्कको १८.३२ प्रतिशत, सानिमा बैङ्कको १६.२७ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको २.४६ प्रतिशतले घटेको छ ।