रवीन्द्र उप्रेती
बर्दिबास, मङ्सिर २५ गते । नेपाल भारत सीमा क्षेत्रबाट स्राेत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरको छ । सशस्त्रले मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट भारत विहारको मधुवनी जिल्ला मधवारपुर ३ का ५० वर्षीय महेश प्रसादलाई तीन लाख ५० हजार ९९५ रुपियाँ बराबरको नेपाली नोटसहित नियन्त्रणमा लिएको हो ।
बरामद भएका नोटमा हजार दरका ३०० थान ५०० दरका सय र १०० दरका ९ थान नोट रहेको सशस्त्रले जनाएको छ । सशस्त्रको मटिहानीस्थित बाेर्डर आउट पोष्टका निरीक्षक रमेश पाण्डेका अनुसार भारतको मधवापुर बजारबाट आज बिहान साइकल चढेर नेपाल प्रवेश गरेका महेशप्रसादलाई चेक प्वाइन्ट डिउटीले सुरुमा रोक्न खाेज्दा भाग्न खोजेपछि लखेटेर नियन्त्रणमा लिएको थियो । तलासी लिँदा उनको साथबाट उक्त नोट फेला परेको हो ।
बरामद नोटको स्राेत पुष्टि गर्न नसक्दा सशस्त्रले भारतीय नागरिक महेशप्रसादलाई आवश्यक कारवाहीका लागि बरामद प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ ।
सीमा क्षेत्रको व्यस्त बजार मटिहानीस्थित सीमा नाकाबाट सशस्त्रको बाेर्डर आउट पोष्टले असोज महिनादेखि पटक पटक गरी अहिलेसम्म १९ लाख ५० हजार स्राेत नखुलेका रकम बरामद गरेको सशस्त्र निरीक्षक पाण्डेले जनाउनुभयो ।