मुगु समाचारदाता
मुगु, मङ्सिर २५ गते । जिल्लाको छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँमा जथाभाबी खनिएको सडकले जोखिम बढाएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नहुँदा मानिसलाई आवागमनका साथै गाईवस्तुलाई चरिचरन गर्ने घट्टेखोलामा पहिरो जाँदा स्थानीयलाई सास्ती भएको छ ।
जिल्लाको खत्याड गाउँपालिका, सोरू गाउँपालिका, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका गाईभैँसी चरन गर्ने धेरै जसो क्षेत्रमा एक्साभेटरले जथाभाबी सडक विस्तारका क्रममा खालीखेत खण्डको पाखोमा फालिएका ढुङ्गामाटोले कोटिलागाउँका चौपायालाई चरनमा सास्ती भएको स्थानीय हर्कबहादुर कुलालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्साभेटरले जथाभाबी सडक खन्दा चरिचरन गर्ने ठाउँ नहुँदा अहिले गाउँमा एक जनाले दुईदेखि तीन वटासम्म मात्र वस्तु पाल्ने गरेका छन् । चरनको समस्याले वस्तु कम पाल्दा मल नभएर कृषि उत्पादनमा पनि ह्रास आएको छ ।”
जथाभाबी सडक खन्ने प्रवृत्ति न्यूनीकरणमा सरोकारवालाले चासो नदेखाएको स्थानीय बरमबहादुर ऐडीले बताउनुभयो । विकासको हुटहुटीमा सबैको ध्यान सडक विस्तारमा मात्रै गएको छ, सडक खन्दा वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै खनिएका सडकले जैविक विविधतालार्ई कस्तो असर पर्छ भन्ने विषयमा अहिलेसम्म जिल्लाका सडकसम्बन्धी काम गर्ने सम्बन्धित निकायले वास्ता नगरेको उहाँको भनाइ छ ।
यता भौतिक पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख केशव बस्नेतका अनुसार यो आर्थिक वर्ष जिल्लामा १२ वटा सडकका योजना रहेका छन् । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले कुनै पनि विकास निर्माणको कार्य गर्नुभन्दा पहिला वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरी योजना निर्माण गर्नुपर्ने ऐनमा व्यवस्था भए पनि तर जिल्लामा यस्तो कार्य नभएको उहाँले बताउनुभयो । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले कुनै पनि विकास निर्माणको कार्य थाल्नुभन्दा अगाडि त्यसको वातावरण मूल्याङ्कन गर्नु पर्छ भनेको छ । जिल्लाका अधिकांश कार्यालयले यो प्रक्रिया कर्मकाण्डीमा मात्र सीमित पारेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कनबिना थालिएका विकास निर्माणका योजनाले जलवायु परिवर्तनसँगै मानिसको आर्थिक एवं सामाजिक विकासमा समेत नकारात्मक असर पारेको देखिएको छ ।