नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना रहेको छ । तराईका फाँटमा धान, मकै, गहुँलगायत उखु, केरा खेती फस्टाउन सक्ने सम्भावना छ । तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । सिँचाइलाई कम लागतमा खेतका गरा गरामा पुर्याउन सकिन्छ । पहाडी तथा तराई क्षेत्रमा ठुला तथा सम्भावना बोकेका नदीका कारण कृषिलाई सिञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न सकिने सम्भावना छ । त्यसै गरी हिमाली क्षेत्रमा जडीबुटीको उत्पादनले देशको आर्थिकस्तर सहजै माथि उकासिने अड्कल नभएका होइनन् । मुलुकको दिगो आर्थिक विकासका साथै मजबुत ग्रामीण अर्थतन्त्रलाई उपलब्धिमूलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पुर्याउन गाह्रो छैन ।
कृषि क्षेत्रलाई माथि उकास्न आधुनिक किसिमको प्रविधि भित्र्याउन मात्र सकियो भने हामी आर्थिक समृद्धितिर अघि बढ्छौँ । देशको अर्थतन्त्र उकालो लाग्नेमा दुबिधा छैन । कृषि पेसा हरेक नेपालीको आशाको केन्द्रका रूपमा रहे पनि यसले आशातीत प्रतिफल दिन नसक्नुको पछाडि धेरै कारण रहेका छन् । कृषिप्रधान देशमा कृषि व्यवसायलाई उचित अवसर र मूल्याङ्कन नगरिनु यसको प्रमुख समस्या हो । अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषि पेसालाई हालसम्म सम्मानित पेसा बनाउन सकिएको छैन । हामी नेपालीलाई विदेशीको गुलामी गर्न मन्जुर छ तर स्वदेशमै बसी कृषिकर्म गर्न स्वीकार्य छैन । विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुस गर्छौं । कृषि पेसालाई प्राथमिकता नदिनु, कृषिकर्मलाई सम्मान नगरिनु नै हाम्रो प्रमुख दोष हो । त्यसै गरी हाम्रो कृषिका लागि प्राकृतिक वातावरण जति नै राम्रो स्तरीय भए पनि पूर्वाधारको कमीले कृषिको विकास हुन नसकेको तथ्य यथार्थ हो ।
हाम्रो देशको कृषि व्यवसाय हालसम्म पनि मौसमी खेतीमा भर परिरहेको अवस्था छ । समय सुहाउँदो विकासमा हामी लम्कन सकेका छैनौँ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन सकिन्छ । हामी अझै परम्परागत कृषिकर्ममा नै छौँ । जसले उच्चतम उत्पादन दिन पनि सक्दैन र लागत पनि बढी लाग्दछ । हाम्रो देशको कृषि प्रणाली, जति नै ठुला गफ गरे पनि निर्वाहमुखीबाट माथि उठ्न सकेको देखिँदैन । अझ हरेक कुरामा विदेशीको भर पर्नुपर्ने बाध्यता छ । जसको समाधानतिर हामी जानेर वा नजानेर लम्कन सकेका छैनौँ । नेपाली मात्रको तरकारी गुन्द्रुकमा पनि हामी आत्मनिर्भर हुन नसकेको अवस्था छ । गुन्द्रुक छिमेकी राष्ट्र चीनबाट आयात गर्छौं ।
कुनै समय विश्वबजारमा अत्यधिक बलिया र आर्थिक उपार्जनका रूपमा मानिएका आर्थिक क्षेत्रसमेत समयक्रमसँगै धराशायी बन्दै गएको औद्योगिक पृष्ठभूमिमा कृषि यस्तो क्षेत्र हो, जो जीवन रहेसम्म रहन्छ । अर्थात् जबसम्म कृषि छ, तबसम्म जीवन रहन्छ । उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले औद्योगिक क्षेत्रलाई मात खुवाउन सक्छ । उदाहरणका रूपमा हाम्रै छिमेकी देश भारतको पन्जाब प्रान्तमा कृषि क्षेत्रले गरेको विकास हेर्न सक्छौँ । त्यस्तै कृषि विकासको गतिमा उल्लेख्य फड्को मारेका चीन, कोरिया, नजिकको छिमेकी बङ्गलादेश जस्ता देशलाई हेर्ने हो भने ती देशले आधुनिक प्रविधिको प्रयोगमा बढी जोड दिने गरेका छन् । यस्ता पाठ सिकेर नेपालले पनि बेलैमा कृषिमा लगानी बढाउन सक्नु पर्छ ।
देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प छैन । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सके मात्र कृषि व्यवसायले गति लिन सक्छ तर वर्तमानमा हाम्रो कृषि क्षेत्रमा देखिएका भोगिएका प्रमुख समस्या भनेकै बजारसम्मको पहुँच हो । किसानको बजारसम्म पहुँच र प्रभाव पुग्न सकेको छैन । साथै उत्पादन गरिएका वस्तुको भण्डारणमा उचित व्यवस्थासमेत नहुने भएकाले किसान सस्तो मूल्यमा आफ्ना उत्पादन बेच्न बाध्य हुने गरेका छन् । धूर्त बिचौलियाको शोषणमा किसान परेका छन् । गरिब किसानको भण्डारण अभावको फाइदा धूर्त बिचौलियाले उठाइरहेका छन् । केही दिनअघि मात्र पनि तरकारीमा बिचौलियाले गरेको हर्कतलाई लिन सकिन्छ । किसान आफ्ना उत्पादन मेहनतको मोलसमेत नउठ्ने मूल्यमा बेच्न बाध्य भइरहेका हुन्छन् तर बिचौलिया रातारात मालामाल भइरहेका हुन्छन् । यस्तो बेथितिको अन्त्य नभएसम्म कृषकको उत्थान, प्रगति, गरिबी निवारण र कृषिमा निर्भरताका हाम्रो दिवा सपना सिवाय अरू हुन सक्दैन । यस्तो प्रवृत्तिले साना किसान साथसाथै आमउपभोक्तासमेत मूल्यवृद्धिको चपेटामा पर्न बाध्य छन् । जसका लागि राज्यले किसानको उत्पादनमा सुरक्षा र लगानीमा ग्यारेन्टीको भावना विकास गर्न सक्नु पर्छ ।
किसानलाई कृषि औजार, उपकरण, बिउबिजन, मलखाद खरिददेखि लिएर युवालक्षित कार्यक्रम अन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवर्धनका लागि रकम प्रदान गरेर कृषिलाई आत्मनिर्भर बनाउन सक्नु पर्छ । उचित मात्रा नमिलाई प्रयोग भएको रासायनिक मलका कारण माटोको खस्किँदो गुणस्तर, बदलिँदो मौसमचक्र, घट्दो खेतीयोग्य जमिन, भएको जमिन पनि घडेरी प्लटिङका कारण अनुत्पादक हुन पुगेको छ । खेतीयोग्य जमिन दिनप्रतिदिन मासिँदै जानुले समस्या सिर्जना गरेको पाइन्छ ।
यसर्थ नेपालको हावापानी सुहाउँदो कृषि व्यवसायको थालनी, किसानलाई आवश्यक तालिम, सहुलियतपूर्ण ऋण र उत्प्रेरणा कार्यक्रम दिन सक्नु पर्छ । उत्पादित वस्तुको उचित मूल्य समायोजन गरी राष्ट्रिय रूपमा बिक्रीवितरण र अन्तर्राष्ट्रियस्तरसम्मको उत्पादनमा जोड दिँदै कृषि व्यवसायीलाई प्रोत्साहन, क्षतिपूर्तिको व्यवस्थामा सरकारले ध्यान दिनु पर्छ । प्रकृतिले दिएको भौगोलिक बनावट र हावापानीका कारण नेपाल व्यावसायिक कृषिका लागि छनोट क्षेत्रका रूपमा पर्दछ । यसलाई ध्यान दिँदै केन्द्र सरकार तथा स्थानीय सरकारले उचित प्रबन्ध मिलाएर लैजान सके दिगो विकासको ढोका खोल्न सक्छ ।
आर्थिक सङ्कट टार्न पर्यटन र ऊर्जाको पनि त्यत्तिकै भूमिका छ । जसरी सार्वजनिक निजी साझेदारी भनेर तीनखम्बे अर्थनीति लिइएको थियो, त्यसरी नै कृषि, पर्यटन र ऊर्जा विकासमार्फत देशमा समृद्धि ल्याउन सकिन्छ । यसबाहेक देश विकास र समृद्धिको पहिलो सर्तका रूपमा कृषि, पर्यटन र ऊर्जाको प्रस्ट कार्ययोजनाको मार्गचित्र बनाइनु पर्दछ । एउटा स्पष्ट मार्गचित्र बनाएर त्यसलाई राजनीतिक तहमा बहस चलाउँदै त्यसको कार्यान्वयनका लागि राष्ट्रिय एकताका साथ अघि बढ्नु पर्छ । यसैबाट अर्थव्यवस्थालाई सुधार्न सकिन्छ । आफ्नै स्रोतसाधनबाट परिचालन गर्न सकिने कृषिसँगै उद्योगबाट दिगो विकासको आधार तयार गर्न सकिन्छ ।