• ५ कात्तिक २०८२, बुधबार

नेपाल संवत्ः साझा र मौलिक संवत्

blog

नयाँ नेपाल संवतको अवसरमा बुधबार पोखरामा निकालिएको र्‍याली । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ५ गते । नेपाल संवत ११४६ गण्डकी प्रदेशको राजधानी पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । र्‍यालीमा नेवारसहित जलारी, गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मण लगायतका जातीय सङ्घ, संस्थाहरूको संस्थागत सहभागिता थियो । 

नयाँ वर्षको स्वागतमा नेवा खलः कास्कीको आह्वान तथा शीतलादेवी नेवाः पुच पोखरा–१२ र शिुशुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा बुधबार न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो । सोअघि पोखरा–३, नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा, सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाच पनि समावेश थियो । 

मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे बताउनुहुन्छ । उहाँले नेपाल संवत मौलिक र साझा संवत भएकाले यसलाई दैनिक कामकाजमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखराको शीतलादेवीबाट सुरु भएको रैली रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोल हुँदै नेवा छेँमा पुगेर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेवार जातिमात्र नभई सभ्यता भएको विचार राख्नुभयो । 

अहिले नेवारले आफ्नो भाषा, संस्कृति छाड्दै गएकोमा चिन्ता व्यक्त गर्दै थप्नुभयो, “भाषा, संस्कृति पहिचान हो, त्यसैले नेवारी भाषा बोल्न, संस्कृति मान्न र भेषभूषा लगाउन कसैले पनि हिच्किचाउनु हुन्न ।” उहाँले नेवार संवत राष्ट्रिय संवत भएकाले यसको प्रयोगमा राज्यले विशेष जोड दिनुपर्ने विचार राख्नुभयो ।

समारोहमा पोखरा नेवा रत्न सम्मान यस वर्ष भैरव सांस्कृतिक समितिलाई प्रदान गरिएको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सङ्गीता बज्राचार्य, सुविन्द्र श्रेष्ठ र श्रीकृष्ण कतिला रहेको छनोट समितिले गरेको सिफारिसका आधारमा पहिलो पटक भैरव सांस्कृतिक संरक्षण समितिलाई नेवा रत्न सम्मान गरिएको हो । 

यो पुरस्कारको राशि नगद एक लाख र ताम्रपत्र छ । नेवाः खल कास्कीले हरेक दुई वर्षमा प्रदान गर्नेगरी अन्तराष्ट्रिय नेवा रत्न सम्मान पनि घोषणा गरेको छ । बुधबारै भएको झाँकी प्रतियोगितामा रूपा देउराली नेवा खल प्रथम भएको छ । प्रतियोगितामा फेदी नेवा खल कास्की द्वितीय, कुँडहर नेवाः खल पोखरा तृतीय र नेपाल राष्ट्रिय खड्की समाज तृतीय हुनुभयो । 

नेपाल संवतको प्रचलन राष्ट्रिय विभूति शङ्खधर साख्वाले चलाएको देखिन्छ । साख्वालाई वि. सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको थियो ।