अमरराज नहर्की
तनहुँ, कात्तिक ५ गते । तनहुँको व्यास नगरपालिकाले गाई संरक्षणलाई धार्मिक आस्था मात्र नभई आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । यसको लागि नगरपालिको व्यास नगरपालिका–१० दुम्सी, भतेरीमा सञ्चालित व्यास गौ संरक्षण केन्द्रलाई नगर गौरवको योजनामा समावेश गरेको छ ।
यस केन्द्रले धार्मिक पर्यटन प्रवद्धर्न गर्ने उद्धेश्यले बुधबार सामूहिक गाई तथा गोवर्धन पूजा गरिएको छ । स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी र धार्मिक अगुवाको उल्लेख्य सहभागिता रहेको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गौ संरक्षण केन्द्रलाई धार्मिक पर्यटनसँग जोडेर व्यासको पहिचान निर्माण गर्न नगरपालिकाको गौरवको योजनामा समावेश गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाई हाम्रो धर्म, संस्कार र कृषि संस्कृतिको प्रतीक हो यसको संरक्षण र उपयोग दुवै दृष्टिले गर्न सक्दा धार्मिक र आर्थिक पर्यटन विस्तार गर्न सकिन्छ ।”
नगरपालिकाले केन्द्रलाई नमूना धार्मिक स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरेको र त्यसका लागि कर्मचारीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले हरियाली पार्क बनाउन बजेट व्यवस्थापन गरेको , मादीनदीमा तटबन्धन गरेर केन्द्रको संरक्षण गरिएको जानकारी दिनुभयो ।
गौ संरक्षण केन्द्रका अध्यक्ष तथा निबर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार पछिल्ला वर्षमा धार्मिक पर्यटकको आगमन तीव्र बढेको छ । उहाँले भन्नुभयो, “मादी नदीमा स्नान गरी वरपीपलको परिक्रमा गरी गाईको पूजा गर्ने र नजिकैको शिव मन्दिरमा दर्शन गर्ने परम्पराले धार्मिक पर्यटनको आकर्षण बढाएको छ ।”
केन्द्रका सचिव भरत केसीका अनुसार तिहार पर्वको समयमा देशभरबाट भक्तजन आउने क्रम अत्यधिक हुने गरेको छ । हाल केन्द्रमा गाई र गोरु गरी करिब १५० चौपाया छन्, जसमा बूढा, बिरामी र बेवारिसे गाईहरूको संरक्षण गरिँदै आएको छ। करिब तीन सय रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा हरियो घाँसे मैदानको व्यवस्था गरिएको छ ।
व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले वडास्तरबाट केन्द्रको विस्तार र पूर्वाधार सुधारमा सहकार्य भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो केन्द्र स्थानीय रोजगार र धार्मिक पर्यटन दुवैको आधार बन्न सक्छ, वडाले यसलाई नमूना धार्मिक गन्तव्यका रूपमा उभ्याउने लक्ष्य लिएको छ ।” तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले गाई, गोबर र जैविक उत्पादनलाई स्थानीय उद्योगसँग जोडेर व्यासलाई धार्मिक तथा हरित नगरका रूपमा चिनाउन सकिने बताउनुभयो । उहाँका अनुसार गाई संरक्षण केन्द्रले धार्मिक पर्यटनसँगै हरित व्यवसाय र आत्मनिर्भरता प्रवद्र्धनमा योगदान पु¥याउनेछ ।
वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलले गोवर्धन पूजाको धार्मिक महत्वबारे प्रष्ट पार्दै गाई संरक्षणलाई धर्म, पर्यावरण र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गाईको संरक्षण भनेको आस्था र प्रकृति सन्तुलन दुवैको रक्षा हो। यसको पूजाबाट उत्पन्न सकारात्मक ऊर्जा समाजमा सद्भाव फैलाउँछ ।”
नगरपालिकाले गौ संरक्षण केन्द्रमार्फत गोबरजन्य मल, धूप र बायोग्यास उत्पादनका कार्यक्रम अघि बढाइरहेको । नगरपालिकाले कुहिने फोहोर केन्द्रमा ल्याएर व्यवस्थापन गरेर मल बनाउने काम गरिरहेको छ ।