गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । सहकारीमा सर्वसाधारणको बचत हिनामिनाको आरोपमा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोपबारे राष्ट्रिय मानव अधिकार आयोगले उच्च प्रहरी अधिकारीसँग सोधपुछ गरेको छ ।
शुक्रबार राति चितवनबाट पोखरा पुर्याउँदा चितवन प्रहरीले लामिछानेलाई दुव्र्यवहार गरेको भनी उजुरी परेपछि आयोगले प्रहरीसँग सोधपुछ गरेको हो । यसबारे बुझ्न आयोगले पत्राचार गरेपछि सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङसहित प्रहरी उच्च अधिकारीहरू आयोगमा पुग्नुभएको थियो ।
एआइजी तामाङसँग आयोगले हिरासतमा रहनुभएका रास्वपा सभापति लामिछानेको हिरासत बसाइ, भेटघाट र बयानका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा अपनाइएको विधिबारे जिज्ञासा राखेको थियो ।
आयोगको जिज्ञासाको जवाफ दिँदै एआइजी तामाङले लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको भनी परेको उजुरीमाथि कुनै सत्यता नरहेको, हिरासतमा रहँदा न्यूनतम मानव अधिकारबारे संवेदनशील बनेको, आफन्त तथा कानुन व्यवसायीलाई निरन्तर भेटघाटमा समेत प्रहरीले सहजीकरण गरेको जवाफ दिनुभएको थियो ।
तामाङले भन्नुभयो, “हिरासतमा रहेका कुनै पनि आरोपितको मानव अधिकार हनन नहोस् भन्नेमा हामी सचेत हुन्छौँ । त्यसमाथि मुलुकको विशिष्ट ओहदामा पुग्नुभएका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गर्यो भन्नु नै अपत्यारिलो हो ।” तामाङसँग आयोगले लामिछानेलाई सुत्न पनि नदिई रातारात चितवनबाट पोखरा लग्दा मानव अधिकारको हनन गरेको आरोपबारे पनि प्रहरीले मानव अधिकार आयोगलाई जवाफ दिएको छ । चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि यही मङ्सिर १८ गते काठमाडौँबाट चितवन लगिएको थियो ।
लामिछानेलाई बयानका लागि चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने क्रममा मङ्सिर १९ गते रास्वपा कार्यकर्ताहरूले प्रहरीमाथि आक्रमण गरी १६ जना प्रहरीलाई घाइते बनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरासहित बल प्रयोग गर्नुपरेको थियो । प्रहरी उच्च स्रोतका अनुसार त्यसको भोलिपल्ट रास्वपाले पूर्वतयारीसहित जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा ठुलो प्रदर्शन गर्ने र त्यो थप हिंसात्मक बन्ने सूचना प्रहरीले पाएपछि लामिछानेलाई राति चितवनबाट पोखरा लगिएको हो । एआइजी तामाङले बयान पनि सकिएको र सुरक्षा चुनौतीलाई मध्यनजर गरी रातिको समयमा पोखरा ल्याउनुपरेको जवाफ आयोगलाई दिएको जानकारी गराउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले रवि लामिछानेमाथि दुव्र्यवहार भएको उजुरीबारे आयोगले अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरिएकाले छानबिन गरी मानव अधिकार संरक्षण गरी पाऊँ भन्नेसमेत बेहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ भएको उहाँले भन्नुभयो ।
घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्च अधिकारीहरूसँग सोमबार आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको जनाइएको छ ।