रङ्गेली समाचारदाता
विराटनगर, असार ८ गते । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विशेष उत्सवका रूपमा निकालिने राधाकृष्णको रथ नयाँ बनाइँदै छ । विराटनगरको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट भगवान् राधाकृष्णको प्रतिमा राखेर धुमधामका साथ निकालिने रथ ५७ वर्ष पुरानो भइसकेकाले यस वर्षका लागि भने नयाँ बनाउन थालिएको हो ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले भन्नुभयो, “२०२५ सालमा निर्माण भएको रथ निकै जीर्ण भएकाले नयाँ निर्माण थालिएको हो । यसका लागि विराटनगर महानगरपालिकाले ४४ लाख ७८ रुपियाँ बजेट पनि उपलब्ध गराएको छ ।”
अध्यक्ष रेग्मीका अनुसार नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो हुने छ । १४÷१९ वर्गफुटको डायसमा नौ फिट चौडा र १० फिट उचाइको कोठा बन्ने छ । यो मन्दिरकै स्वरूपमा हुने छ र त्यसभित्र भगवान् राधाकृष्णको प्रतिमालाई विराजमान गराइने छ । यस अगाडि भगवान् रहने क्षेत्र चार÷चार को मात्रै थियो ।
विराटनगरमा १९८८ सालदेखि नै खटयात्रा गरिँदै आएको थियो । यो धार्मिक उत्सव, २०२५ यता रथयात्राका रूपमा नेपालको सबैभन्दा ठुलो र कोशी प्रदेशको मुख्य सांस्कृतिक पर्व मानिन्छ । यस वर्ष साउन ३१ गते कृष्ण जन्माष्टमी भदौ १ गते रथयात्रा पर्ने छ ।
अध्यक्ष रेग्मीका अनुसार दक्षिण एसियामै दोस्रो ठुलो मानिने रथयात्रा अवलोकनमा आउने श्रद्धालुले भगवान्लाई हेर्न नपाएको गुनासो गरेका कारण नयाँ रथ निर्माण गर्नु परेको हो । नयाँ निर्माण गरिएको रथमा सबैले भगवान्लाई सडकबाटै दर्शन गर्न पाउने छन् ।
रथको आधार भाग दुई हजार केजी फलामबाट निर्माण गरिएको छ । जसमा भित्रबाटै माथि जान सक्ने सिँढी राखिएको छ । रथलाई रोक्न अगाडि पट्टि नै हाइड्रोलिक ब्रेक राखिएको छ । अगाडि नै ब्रेक राखेपछि त्यसलाई नियन्त्रण गर्ने व्यक्तिले सडकको अवस्था प्रत्यक्ष देख्न पाउने छन् ।
आधारमा चार वटा पिल्लर राख्ने फर्मा बनाइएको छ । आधारको सबै भाग फलामबाट बनाइएको छ । यसको लागत १२ लाख रुपियाँ परेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । यसमा चार वटा काठको पिल्लर रहने छन् । करिब नौ क्युफिट काठको एउटा पिल्लर रहेको छ । पिल्लरका लागि एक सय वर्ष पुरानो सखुवा र सिसौ प्रयोग गरिएको हो ।
रथ निर्माणका लागि दुई सय क्युफिट काठको जोहो गरिएको छ । यसमा एक सय क्युफिट वन कार्यालयबाट र एक सय क्युफिट निजी जग्गामा भएको रुख खरिद गरिएको हो । फलामका आधारमा काठका चार वटा पिल्लर खडा हुने छन् । त्यसमा प्यागोडा शैली कलात्मक बुट्टासहितको मन्दिर तयार हुने छ । अहिले धमाधम कलात्मक बुट्टा कुद्ने काम भइरहेको छ ।
अध्यक्ष रेग्मीका अनुसार गत वैशाख २१ गते आयोजना सम्झौता भएपछि जेठ १० गतेदेखि लगातार पिल्लर तथा पट्टिमा बुट्टा कुँद्ने कार्य जारी छ । धेरै ठुलो रुखको काठ भएका कारण त्यसलाई कँुदेर बुट्टा निकाल्ने कुरा सहज नभएको कलाकार सुशीलकुमार सरदार बताउनुहुन्छ ।
आगामी भदौ १ गते रथयात्रा निकाल्नका लागि यसको तयारी गरिसक्नुपर्ने भएकाले अहिले दिउँसो मात्रै नभई रातिसमेत काम हुँदै आएको छ । डायससहित यसमाथि निर्माण हुने संरचनाको वजन झन्डै चार हजार केजी हुने अनुमान गरिएको छ । अध्यक्ष रेग्मीका अनुसार यसमा व्यक्तिगत चन्दा माग गरिएको छैन । यो विराटनगर महानगरपालिकाको साझा पर्व भएकाले स्थानीय सरकारको लगानीमा निर्माण गरेर सबै नागरिकको अपनत्व जोड्न खोजिएको हो ।
विराटनगर–१, तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथ मेनरोड हुँदै रोडशेष चोक, त्यसपछि धरानरोडबाट महेन्द्रचोक, बरगाछी हुँदै नौ किलो मिटरको रुटमा घुमाउने गरिएको छ । महेन्द्रचोक–ट्राफिक चोकको सडकमा सौन्दर्यीकरणका लागि भन्दै स्थायी संरचना बनेपछि यसलाई ट्राफिक चोकबाट रोडशेष चोकतर्फ बढाउन थालिएको हो ।
सुरुमा आठ जनाले थालेको खटयात्रा अहिले रथयात्रामा परिणत हुँदा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुन थालेका छन् । अध्यक्ष रेग्मीले सुरुमा विराटनगरका उत्तरीतर्फका मात्रै नागरिक संलग्न हुने रथयात्रामा विस्तारै नगरवासी, जिल्लावासी, देशवासी हुँदै भारतका समेत धर्मानुरागी सहभागी हुन थालेको बताउनुभयो । यसलाई प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर रथयात्राका दिन तीन वटा जिल्लामा सार्वजानिक बिदा दिन थालेको छ ।