• ९ पुस २०८१, मङ्गलबार

‘राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैन’

blog

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २४ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुहुँदै लोकतन्त्र र राजतन्त्र सँगै जानै नसक्ने बताउनुभएको छ । सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको बताउनुभयो । उहाँले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरिसकेको प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रुपले पराजित भयो । मदन भण्डारीको भाषामाभन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन, तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्, भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निस्कर्षमा पुगेका हौँ । अब राजतन्त्र र लोकतन्त्र सँगसँगै अघि बढ्न सक्दैन ।”

राजतन्त्रका अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निस्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ, उहाँले भन्नुभयो, “हो गणतन्त्रले भनेजस्तो गरी डेलिभरी दिन नसकेको होला । कतिपय पात्रहरुको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवममा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो । यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।” उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताउनुभयो ।